सिंगापुरको क्यापेला होटलमा ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।
दस्तावेजमा के छ भनिएको छैन । हस्ताक्षरपछि दुवैले संयुक्त समझदारीको प्रति एकअर्कालाई दिएका थिए ।
ट्रम्पले आफूहरूबीचको वार्ता अत्यन्त सफल भएको बताए भने किमले अब एक नयाँ युगको शुरूआत भएको टिप्पणी गरे ।
दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो ।
ट्रम्प र किमले शिखरवार्ताको प्रगतिलाई समेटेको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका हुन् ।
यसपछि शान्ति प्रक्रिया तीव्र गतिमा अघि बढ्ने ट्रम्पले बताए ।
वार्ता सफल पार्न योगदान गर्ने कूटनीतिज्ञहरूलाई ट्रम्पले धन्यवाद दिए ।
आफूहरूले हस्ताक्षर गरेको पत्रले व्यापक र महत्त्वपूर्ण कुराहरू समेटेको पनि उनले बताए । उनले किमसँगको समय बिताउन गौरवान्वित भएको टिप्पणी गरे ।
दुवैले हस्ताक्षर समारोहपछि एकअर्काको ढाडमा हात राखेर न्यानोपनको संकेत दिएका थिए ।
फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।