गौशाला, महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् ।
मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताउनुभयो ।
त्यसैगरी धान रोप्दा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धान खेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।
बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा मनोज दासले बताउनुभयो ।
आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएपछि सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरु उनलाई खेतको आलीमा लडेर राखेको र गाउँमा खबर पु¥याएर उनलाई उपचारकै लागि लैजान खोज्दा उनको खेत नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस