विराटनगर, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र समृद्धिमा सघाउ पुग्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतीय प्रधानमन्त्रीसँगको भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्ने शुभकामना दिनुभएको जानकारी दिनुभयो ।
नेता गच्छदारले जनकपुरमा मित्र राष्ट्रको सरकार प्रमुखको अभिनन्दन समारोह संविधानप्रति असन्तुष्ट पोख्ने उपयुक्त थलो नभएको बताउँदै मधेशी जनताको संविधानप्रतिको असन्तुष्टि संसद्बाट संशोधन गरी समाधान गर्न सकिने स्पष्ट पार्नु भयो ।
उहाँले नेपाली जनताको लामो त्याग, बलिदान संर्घष एवं प्रतिनिधित्वबाट निर्माण गरिएको ‘हाम्रो राम्रो संविधान’ न पहिले बनेका थियो न अब फेरि बन्ने छ भन्दै यसलाई विवादित नबनाई संशोधन गर्दै सर्वस्वीकार्य बनाउन सबैको जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।
फरक प्रसंमा उहाँले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच २०७४ असोज २९ गते भएको सहमति पार्टीले कार्यान्वयन गर्ने बताउँदै यस विषयमा पार्टीका अरु नेताहरुले के भन्छन् त्यस सम्वन्धमा चासो नभएको बताउनुभयो ।
नेता गच्छदारले काँग्रेसभित्रको गुट उपगुटलाई एक ढिक्का बनाइ राष्ट्रिय राजनीतिमा अगाडि लैजान फोरम लोकतान्त्रिक र काँग्रेसबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।