छोरा नपाएको भन्दै एक पतिले पत्नीलाई निर्घात कुटपिट गरेका छन् । ठूलीभेरी नगरपालिका वडा नं ७ जुफालका बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् ।
वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।
पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए ।
घाइते रोकायले उपचारपछि होस खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी प्रमुख कृष्णराज शर्माले बताएका छन् ।