ओलीको राजनीतिक यात्रा २०२३ सालमा माक्र्सबादी अध्ययन दलमा संगठित भई प्रारम्भ भएको हो । २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विधार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबद्ध भई २०२६ सालमा नेकपा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक बालुवाटार छिर्दैछन् । उनले पहिलोपटक देशको प्रधानमन्त्री बन्दा जनताको राम्रै साथ पाए । र, पुन उनले देश हाक्ने जिम्मेवारी पाएका छन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा भएको हो । हाल भक्तपुरको बालकोटमा स्थायी रुपमा बस्दै आएका ओली २०७१ साल असारमा सम्पन्न नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०७० साल मंसीरमा सम्पन्न संबिधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर सात र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापाको क्षेत्र नम्बर ५बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०७२ साल असोज २४ गतेदेखि २०७३ साल श्रावण १९ गतेसम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
मुलुकको संविधानविरुद्ध देशमा आर्थिक नाकाबन्दी लागेका बेला पहिलोपटक प्रधानमन्त्री बनेका ओलीले आफ्नो कार्यकालमा भारतीय नाकाबन्दी मात्रै खुलाउनका साथै भारतको विशाखापट्टनम बन्दरगाहको उपभोग गर्ने हक पनि कायम गराए ।
ओलीले छिमेकी मित्रराष्ट्र चीनसँग ऐतिहासिक पारवहन सन्धी गरी भूपरिवेष्ठित राष्ट्रले पाउने अधिकार स्थापित गराए । र, एकदेशीय निर्भरता तोड्दै ब्यापार विविधकरणको खुला मार्ग तयार गरे ।
नेपाल–चीन रेल्वे सम्झौता, पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता, खनिज उत्खनन् सम्झौता र अन्तर्राष्ट्रिय विद्युत ट्रान्समिशन लाइन लगायतका सम्झौता गर्नु भएको थियो । ओलीको पहिलो प्रधानमन्त्रीत्वकाल जनताबीच निकै लोकप्रिय भएको थियो । २०७० साल माघ २१ गते भएको एमाले संसदीय दलको निर्वाचनमा उनी संसदीय दलको नेतामा चुनिएका थिए ।
ओलीको राजनीतिक यात्रा २०२३ सालमा माक्र्सबादी अध्ययन दलमा संगठित भई प्रारम्भ भएको हो । २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विधार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबद्ध भई २०२६ सालमा नेकपा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । ओली तत्कालीन झापा विद्रोहका एक जना संस्थापक र तत्कालीन नेकपा माले गठन हँुदाका संस्थापकमध्ये एक हुन् ।
निरंकुश पञ्चायती व्यबस्थाविरुद्धको आन्दोलनमा उनी २०२७ साल फागुन १६ गते झापाबाट गिरफ्तार भएका थिए भने २०३० साल असोज २३ बाट उनको जेल जीवन प्रारम्भ भएको थियो । त्यसपछि अध्यक्ष ओलीले लगातार १४ वर्ष जेल जीवन विताए ।
२०४४ साल असार ११ मा उनी भद्रगोल जेलबाट रिहा भए । २०४४ साल पुस २ गते धादिङको धुसा गाउँ पञ्चायत ७ स्यादुलमा भूमिगत रुपमा बसेको तत्कालीन नेकपा मालेको बैठकबाट ओली केन्द्रीय कमिटि सदस्य बनेका थिए भने २०४६ सालमा तत्कालीन माले पार्टीको लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्नु भएका अध्यक्ष ओली २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनदेखि अध्यक्षमा निर्वाचित भए । युवा संघ नेपालको संस्थापक अध्यक्ष समेत रहेका ओली २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा झापाबाट निर्वाचित भएका थिए ।
२०५१ सालमा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो कम्युनिष्ट सरकारमा ओलीले गृह मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०६२–६३ को जनान्दोलनपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा ओलीले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका थिए ।