राष्ट्रियसभा निर्वाचनमा पनि वाम गठबन्धन अगाडि आएको छ । सात प्रदेशको निर्वाचन नतिजालाई हेर्ने हो भने राष्ट्रियसभा निर्वाचनमा बाम अगाडि आएको छ । प्रदेश नं ६ मा बुधबार राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् ।
जारी मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयकाका उपप्रधानपञ्च नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
बुढाले तीन हजार ७२० मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो । बुढाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत प्राप्त गरेका थिए । त्यस्तै, लुहारले तीन हजार ६६६ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिद्वन्द्वी काँग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । एक हजार १६२ मतभार कोटा निर्धारण गरिएकामा वाम गठबन्धनका महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले विजय भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी हुनुहुन्छ भने युटुल माओवादी केन्द्रकी हुनुहुन्छ । बाँकी खुलातर्फको मतगणना शुरु गरिएको बताउँदै उहाँले यसको नतिजा राति १२ बजेसम्म आउने जनाए ।