व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष तथा शून्य समयमा सांसदले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका धनराज गुरुङले नक्कली भ्याट बिलका बारेमा उच्चस्तरीय छानबिन नभएकामा चिन्ता व्यक्त गर्दै आयल निगमको जग्गा खरिदसम्बन्धी छानबिन गर्न किन सरकार चुप लागेर बसेको भन्ने प्रश्न गर्नुभयो ।
“तैँ चुप मै चुप । काले, काले मिलेर खाँऊ भाले भने जस्तै सरकार, उच्च प्रशासक र व्यापारी भएका छन् । यस्तो अवस्थामा संसद् टुलुटुलु हेरेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो ।
नेकपा ९एमाले०का सांसद डा गंगालाल तुलाधरले शिक्षा ऐन पारित भएको १४ महिना बितिसक्दा पनि शिक्षा नियमावली नभएकामा सरकारको ध्यानाकर्षण गराउँदै नियमावली नआउँदा शिक्षा क्षेत्र तहसनहस हुँदै गएको बताउनुभयो । उहाँले शिक्षक सेवा आयोगको परीक्षा स्थगित नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा ९माओवादी केन्द्र०का रामनारायण विडारीले नेशनल ट्रेडिङको आर्थिक अवस्था दिन प्रतिदिन धराशयी बन्दै गएकामा चिन्ता व्यक्त गर्दै ट्रेडिङको जग्गा नेपाल आयल निगमले खरिद गर्दा नियम पालन नगरेको बताउनुभयो । उहाँले एउटै मागका विषयमा एउटै चिकित्सक पटकपटक किन अनशनमा बस्नुप¥यो रु भन्ने प्रश्न गर्दै प्रा डा गोविन्द केसीले उठान गर्नुभएको माग पूरा गर्न सरकार गम्भीर बन्न आग्रह गर्नुभयो ।
राष्ट्रिय जनता पार्टीका वृजेशकुमार गुप्ताले सरकारले कपिलवस्तुको तिलौटाकोटका जग्गा अधिग्रहण गर्दा पक्षपात गरेको भन्दै किसानलाई उचित मूल्य दिएर मात्र अधिग्रहण कार्य अगाडि बढाउन माग गर्नुभयो ।
संघीय समाजवादी फोरमका डा शिवजी यादवले तराई मधेशका अधिकांश जिल्लामा समयमा वर्षात् नहुँदा रोपाइँ नभएको उल्लेख गर्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत दिन माग गर्नुभयो ।
नेकपा ९माले०का अइन्द्रसुन्दर नेम्बाङले स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा महिला घरमै सुत्केरी हुन परेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्गम क्षेत्रमा समय नाघेका औषधि र काम नलाग्ने उपकरण पुगेको बताउनुभयो ।
सांसद मीना पुनले चिकित्सा शिक्षा सुधारका माग राख्दै निरन्तर अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीको माग पूरा गर्न सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।
यसअघिको शून्य समयमा बोल्ने सांसदहरुले विषादीयुक्त कृषि उत्पादनले मिर्गौला, उच्च रक्तचाप र मुटुका रोगीको संख्या बढिरहेकाले विषादीरहित खेतीतर्फ कृषकलाई आकर्षित गर्न, धनुषाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन, पशुपतिमा रहेको विद्युतीय शवदहन उपकरण बिग्रेकाले तुरुन्त मर्मत गरी शवदहन कार्यलाई निरन्तता दिन माग गर्नुभयो ।
बेनी–जोमसोम सडक वर्षात्ले क्षति पु¥याएको, निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसङ्ख्यालाई आधार बनाउन, क्षेत्र निर्धारण गर्दा जनप्रतिनिधिसित सुझाव लिन, राष्ट्र बैँकको भूमिकालाई प्रभावकारी बनाउन पनि उहाँहरुले सुझाव दिनुभयो ।
यसरी आ–आफ्नो धारणा राख्नुहुने सांसदहरुमा दुलारी हरिजन, धर्मेन्द्रकुमार साह तेली, नगेन्द्रकुमार तेली, नरवराज शर्मा, पाचकर्ण राई, प्रकाश शर्मा पौडेल र प्रेम सुवाल हुनुहुन्थ्यो ।