(लक्ष्मीप्रसाद सापकोटा)
विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ ।
रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । उहाँ सँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए ।
खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताउनुभयो । खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।
उपचारका लागि उहाँलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उहाँको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्कनुभएको थियो । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उहाँले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गर्नुभएको थियो । काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उहाँले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाउनुभयो ।
उहाँकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले उहाँ हिँड्डुल गर्नुहुन्छ । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उहाँको छैन । उहाँले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधँै पीडित नै बनिरहेको दुखेसो गर्नुभयो ।
“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उहाँले गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।”
खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गर्नुभयो । आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिगँ्रदै गएको छ । उहाँले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गर्नुभयो ।