–दिनेशराज सत्याल
महाशिवरात्रीको सन्ध्यामा स्थुल रुपमै नेपालको पशुपतिनाथ परिसर निरीक्षण गर्ने रहर कैलाशपतिलाई लागेछ । सुक्ष्म रुपमा चढाएको फूलपाती र नैवेध त सधैँ देखेकै हो, यस पटक स्थुलरुप धारण गरेर विचरण गर्ने मनसुवाले पार्वतीसँग विदा मागेर भोलेनाथ पशुपति क्षेत्रमा ओर्लिएछन् । स्थुल जीवमा कुन भेष धारण गर्ने हो भनी ठम्याउन उनलाई एकछिन समय लागेछ । पन्छीरुप धारण गरुँ कि ? असंगठित पशुरुप धारण गरुँ कि संगठित पशु रुप धारण गरुँ ? एकछिन विचार गर्नै समय लाग्यो । पशुहरुको स्थुल भेषमा मन्दिर छिर्न मुस्किल प्रायः ठानेर साधुको भेषमा मन्दिर छिर्दा उपयुक्त हुन्छ कि भनी केही वेर विचार गरे । अहँ साधुको रुपमाभित्र छिर्न उनलाई त्यति सहज भएन, कुन भेषको साधु हुनु ? नागा, बैष्णव, नाथ वाउदासी कुन बन्ने उनीहरु मध्ये, जे बने पनि आफू कसैको पक्षपाती ठहरिने र सम्वन्धित सम्प्रदायका व्यक्ति वाहेक अन्यले आफूलाई भेदभाव मानेको ठान्ने भयले साधुको आवरणमा प्रवेश नगरी गृहस्थको आवरणमा पशुपति परिसर छिर्ने र बस्तुगत मूल्यांकन गर्ने विचार नै सर्वश्रेष्ठ ठहरियो र पशुपतिनाथ छिर्ने बाटो चहार्न थाले ।
गौशालाबाट प्रवेश गर्न खोजेको मात्र के थिए, लाइनलाग्नु पर्ने बताइयो । कहाँ लाइन लागि रहने सबै क्षेत्र डुल्नु छ, लाइन लागेर त कुनै हालतमा पनि उद्देश्य पूरा हुँदैन, लाइन नलागेरै अगाडि बढ्नु प¥यो, यस्तो सोचेर गौशालाहुँदै पिंगलास्थानतर्फ अगाडि बढ्दै थिए । फलामेवार नाघेर केही युवायुवती पशुपति क्षेत्र प्रवेश गर्दै थिए । अनुशासनहीन ठहरे पनि उपयुक्तमार्ग सम्झेर भोलेनाथले पनि युवापुस्ताकै आचरण पछ्याए । क्षेत्र प्रवेश गर्ना साथ पिङमा मच्चिएका, रमाएका, आत्तिएका मानिसहरुको मुखाकृति निहालेर भोलेनाथ मुसुक्क मुस्कुराए । लौ यो मेलाको पछि लागेर मेरो उद्देश्य विचलित हुन्छ, म त पशुपतिपो छिर्नुपर्छ, उनले पशुपति प्रवेश गर्ने कुनै स्थान पाएनन्, लाइनवालाले उनलाई लाइनमा छिर्नै दिएनन् । लाईन विना पशुपति छिर्न साधारण गृहस्थीको लागि सुगम थिएन । यताबाट उता, उताबाट यता गर्दै भौतारिँदाभौतारिँदै पुनःपिंगलास्थान नजिकैको बागमतिको पुलहुँदै मृगस्थलीतर्फ लागे । ओहो धुनी जगाएर बस्ने बाबाहरुको साथमा नेपाली युवायुवतीहरु घुडा जोड्दै गाँजा तानिरहेको दृश्यले महादेवको मन विक्षिप्त बन्यो । “ओहो नेपाली युवायुवतीहरु पर्व मनाउने नाउँमा विकृति पो भर्दैरहेछन हो कि ? त्यो पनि मेरो नाममा अहो ! यिनीहरुलाई कसले सद्बुद्धि देला ? के यिनीहरुका अभिभावकले यिनीहरुलाई यस्तै बनाउन रातोदिन पसिना बगाएका होलान् त ? भोलेबाबाले अभिभावकका सपना सम्झिए, आफ्नो नाउँमा विकृति भरिएको मानिकै पछुतो माने, भिडलाई पन्साउँदै उनी बागमति किनारमा हुने आरतीमा पुगे, त्याँहा एकछिन आफूलाई ध्यानस्थ बनाउने प्रयास गर्दै थिए, एक जना युवाले महादेवलाई लक्षित गर्दै सोध्यो – दाइ, शिवरात्रिको नाममा विकृति बढ्दै गयो है, यहाँ मेलामा आमा, दिदीबहिनी र श्रीमतिलाई लिएर आउनै नसकिने भयो भन्या । महादेवले स्वीकारोक्ति जनाए, उनीसँग यसको कुनै समाधान थिएन, समाधान भनौँ भने पनि यो युवाले स्वीकार्दैनथ्यो । म महादेव नै हुँ भने पनि त्यो युवाले महादेवलाई बहुलाहा सम्झन सक्थ्यो त्यसैले महादेवले हँहँ, हुँ हुँ गर्दै मुन्टो हल्लाउँदै बस्नु प¥यो । करीव ९ बजे पछि महादेवले वागमतिपट्टीको गेटबाट मन्दिर छिर्ने प्रयास गरे, लाइन छोटो भएकोले महादेवको प्रवेश भयो । भित्र नागा बाबाहरुले मयुरको प्वाखभएको कुचाले महादेवको टाउँकोमा प्रहार गरिरहे । एउटा नागा बाबाले त महादेवलाई गाली पनि गरी टोपल्यो । मानौ त्यो नागा साक्षात शिवजी हो र त्यो दिन उसको इशारामा सबैजना चल्नुपर्छ । साधारण गृहस्थीको भेषका महादेवले नागालाई सम्झाउनु बुद्धिमानी सम्झिएनन् र जताबाट आएका थिए, त्यतैबाट बाहिर निस्कने प्रयास गरे, ओहो, विचित्र त्याहाँ, सुरक्षाकर्मीले उनलाई त्यसो गर्न दिएनन् । उनी भिडमा फेरि जुत्ताभएको ठाउँतर्फ जान चाहन्थे, यताबाट उता र उताबाट यता भन्दाभन्दै करिव १० बजेतिर मात्र जुत्ता भएको ठाउँमा पुगे, ओहो जुत्ता त राखिएको ठाउँबाट मिल्काइएका रहेछन् । कसले मिल्कायो होला जुत्ता ? एक जना मानिस सुरक्षाकर्मीले मिल्काएको हो कि भन्थ्यो । बल्लबल्ल जुत्ता भेट्टाएर बागमतिको पुल हुँदै मृगस्थलीतर्फ जाँदै गर्दा तीन जनायुवतीहरु एउटा बेञ्चमा बसेर जिस्किदैँ थिएँ, महादेवको आँखा तिनीहरुकोमा प¥यो, ती मध्येकी एउटीले देवादिदेव महादेवलाई सोधिन्– “के पार्वती हेर्न आएको हो ?” महादेव असमञ्जसमा परे, पार्वतीलाई कैलाशमा छोडेर आएको हुँ, यहाँ फेरि यो युवती आफूलाई पार्वती नै सम्झिन्छे कि क्याहो ? महादेवलाई झोक चल्यो, मैँ हु महादेव भन्दिऊँ कि जस्तो पनि लाग्यो, तर भने पनि, नभने पनि कुनै कल्याण नदेखेरै मुसुक्क मुस्कुराउँदै मृगस्थलीतर्फ अगाडि बढे, मृगस्थलीको गोरखनाथ मन्दिर पुग्दै गर्दा अकस्मात मुखबाट गोरखको “हसिवा, खेलिवा, रहिवा रंग, कामक्रोध नकरिवा संग फु¥यो । मनमनै गुन्गुनाए र गुह्येश्वरी हुँदै किराँतेश्वर महादेव मन्दिरमा प्रवेश गरे । त्यहाँ शास्त्रीय संगीत हुँदै थियो । एकछिन शास्त्रीय संगीत र वाँसुरीको धुन सुनेर ध्यानस्थ बने र पुनःगौरीघाट हुँदै कैलाशबाट उकालो लागेका थिए, त्याहाँ तैनाथ सुरक्षाकर्मीले जुन बाटो आएको हो त्यही बाटो फर्क नत्र ढाडमा सेकाउनु पर्ला भने पछि लुरुक्क फर्किए । पुनःपशुपतीको परिक्रमा गर्दै वागमतीको पुल तरेर एउटा खाली बेञ्चमा बसेका मात्र के थिए । वेलुकाको १२ बजेको रहेछ । सुरक्षाकर्मीले युवायुवतिहरुलाई घर जाऊँ भनेर खेद्दै रहेछ । गाँजा खाएका युवायुवतीहरु साईसाई र सुईसुई गर्दै अभद्रताको प्रदर्शन गर्दै थिए । गाँजा नखाएका पशुपतीलाई आफूलाई सुरक्षाकर्मीले अभद्र व्यवहार गर्लान् भन्ने लागेको थिएन, तर एउटा सुरक्षाकर्मीले पाखुरामा समातेरै बेञ्चबाट उठायो । “कतिबज्यो ? अझै घर नजाने ? लगाऊँ छडी ?” ऊ चिच्याउँदै थियो । महादेवले आफूले हल्ला खल्ला नगरेको, गाँजा नखाएको, रात्री जाग्राम बस्न मात्रपशुपति आएको बताउन चाहेका थिए, त्यहाँ उनको स्प्रष्टोक्ति सुरक्षाकर्मीले सुन्ने अवस्था देखेनन् र लुरुलुरु आर्यघाटतर्फ अगाडि बढे, विभिन्न भेषधारी साधुहरु, र विदेशी पर्यटक बाहेक सबैलाई सुरक्षाकर्मीले लखेटि रहेका थिए । पशुपतिनाथमा जाग्राम बस्ने संस्कृतिलाई सुरक्षाकर्मी लगाएर नष्ट गरेको महादेवलाई राम्रो लागेन, एकजना सुरक्षाकर्मीलाई गाँजा नखाएका मानिसहरुलाई त पशुपति क्षेत्रमा जाग्राम बस्न दिएहुने नि भनि टोपले, तर उसले खाएका र नखाएका मानिस कसरी चिन्नु र भन्दै उल्टै महादेवलाई नै प्रति प्रश्न ग¥यो । महादेव निरुत्तर अझभनौँ अवाक् भए, त्याँहा अब उनलाई सुरक्षाकर्मीले बस्न नदिने नै भयो, पशुपति छिरौँ, गेट बन्द भईसकेको छ, सुक्ष्म रुपमा कतै जाऊँ स्थुल रुपमा निरीक्षण गर्न भनेर आइएको छ । त्यसैले त्यहाँबाट अगाडि बढे, एउटा संस्थाले भजन किर्तनको कार्यक्रम राखेको रहेछ । एकछिन भजन किर्तनको आनन्द उठाउँथै थिए, छेउको कुर्सीमा बसेको युवाले घरिघरि घुडाले धक्का लगाउँथ्यो, महादेव जति सर्नु हुन्थ्यो, ऊ उति नै घुडा अघि साथ्र्यो, आजित भएर महादेवले त्यो कुर्सी छोडि दिए, शायद युवानशाले मात्तिएको थियो, महादेवलाई सोध्दैथियो, “अवजाने?”
महादेवले उत्तर दिए, “हो अबजाने” । त्यतिखेर बिहानको तीन बजेको थियो ।
[email protected]