नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.२३ कमाण्ड तथा स्टाफ तालिमको आज मिति २०७३ फागुन ०९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ ।
उक्त तालिममा नेपाली सेनाका सेनानीहरु ४० जना, सह सेनानी २ जना गरी जम्मा ४२ जना, सशस्त्र प्रहरी बलका नायव उपरिक्षकहरु २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक १ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना र रक्षा मन्त्रालयका शाखा अधिकृत १ जनाको सहभागीता रहेको थियो । त्यसैगरी, मित्रराष्ट्र भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मलेशिया र अमेरिकाबाट १÷१ जना बिदेशी शिक्षार्थीहरु सहित कुल ५४ जना शिक्षार्थी अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी आज दिक्षित हुनु भएका छन् ।
समग्र तालिममा नेपाली सेनाका सेनानी कञ्चन कृष्ण बस्नेत प्रथम हुनु भएकाछन् । एम.एस.एस.को अध्ययनमा आवश्यक पर्ने सोधपत्र अर्थात् कमाण्ड्याण्ट पेपर तर्फ भारतीय सेनाका सेनानी अभिषेक कुमार शर्मा प्रथम भएकाछन् ।
उक्त दीक्षान्त समारोहमा प्रधान सेनापति महारथी श्री क्षत्रीले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनुहुने नेपाली सेनाका सेनानी कञ्चन कृष्ण बस्नेतलाई ‘उत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदान गर्नुको साथै दिक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई प्रमाण(पत्र वितरण गर्नुभएको थियो । सोही अवसरमा वँहाले उक्त कलेजको वार्षिक मुखपत्र ‘दि शिवपुरी’ जर्नलको विमोचनसमेत गर्नुभएको छ ।
उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले दीक्षित शिक्षार्थीहरुलाई बधाई दिनुहुँदै यस तालिममा आर्जन गरेको ज्ञान, सिप र अनुभवले भविष्यमा प्राप्त हुने कुनैपनि जिम्मेवारीलाई सफल एवं सहज ढङ्गले निर्वाह गर्नमा महत्वपूर्ण भूमिका खेल्नेमा पूर्ण विश्वस्त रहेको बताउनु भएको छ । सोही क्रममा वहाँले परम्परागत सुरक्षा चुनौतिको अलावा अन्य विविध खालका चुनौतिहरु बढ्दै गएको हुँदा आउनसक्ने त्यस्ता चुनौतिहरुलाई सामना गर्न आधुनिक प्रविधिको प्रयोगलाई अवसरको रुपमा लिन सकिने बताउनु भयो । वर्तमान सुरक्षा चुनौतिलाई निश्तेज पार्न हाम्रो सोच एवं कार्य प्रकृतिलाई समय सापेक्ष बदल्दै सुरक्षा फौज थप योग्य, क्षमतावान, गतिशिल एवं क्रियाशिल हुनु जरुरी रहेको बताउनु भएको थियो ।

























