भियतनाममा राम्रो ह्युमन राइट कानुन प्राक्टिस गरेकी नारालाई मैले पहिलोपटक एशियामा नभई अमेरिकामा भेटेको थिएँ । प्यासेफिक ओसनको किनारमा भव्य रुपले बसाइएका अमेरिकको पश्चिमी राज्य क्यालिफोर्नियाको मनोरम सहर सनफ्रान्सिसकोमा मैले भेट्दा नाराको अनुहारमा आशाभन्दा बढी निराशाको किरणहरु धेरै थिए ।
विश्वको तेस्रो मुलुकबाट अमेरिका जस्तो वैभवशाली मुलुकमा आएकी नारा भनेजस्तो काम र प्रतिष्ठा नपाएकोमा असन्तुष्ट थिइन् । मैले नेपालमा आफ्नो प्रोफेसन बताएपछि उसले आफ्नो स्टाटस बताउँदै भनेकी थिई अमेरिका तेस्रो मुलुकबाट आएकाहरुका लागि कठिनमय जीवनको भोगाई हो ।
अमेरिका संसारका मानिसहरुका लागि सपनाको देश हो, त्यसमाथि पनि हामी जस्ता अविकसित देशका नागरिकका लागि कल्पनाको देश पनि, अनेकन सपना बोकेर अमेरिका आउने हजाराँै हजार आप्रबासीहरुका सबै सपना पुरा नहुन सक्छन् किनभने बाहिरी संसारबाट देखिने अमेरिका र भोगिने अमेरिकाका बारेमा व्यापक असमानता छ । सायद भियतनामबाट आएकी नारा र काठमाण्डौबाट आएका रामकृष्ण तिवारीको बीचमा केही समानता छ ।
रामकृष्ण तिवारी काठमाण्डौका स्थायी खानदानी परिवारका हुन् । सन् २००९ तिर अमेरिका आएका तिवारी हाल अमेरिकाको इलिनोइस राज्यको शिकागो शहरमा क्याव चलाउँछन् । दिनको १२ घण्टाभन्दा बढिको खटाई बाट वाक्क भएका रामकृष्ण शिकागोमा भेटिदाँ निराशाजनक तथ्यांकहरु प्रस्तुत गर्दै थिए ।
अमेरिकाको पुर्वी देखि पश्चिमसम्म बसोबास गर्ने नेपालीको संख्या ४ लाखको हाराहारीमा रहेको अनमान गरिएको छ । प्रायः सबै राज्यहरुमा नेपालीहरुको संख्या बढि नै रहेको छ सनफ्रान्सिस्कोमा भेटिएकी नारा, शिकागोमा भेटिएका रामकृष्ण मात्र होइन न्युयोर्कको म्यानहाटनमा भेटिएका किशन श्रेष्ठको बीचमा समानता वा असमानता जे भएपनि अमेरिकमा आप्रबासीहरुको प्रतिनिधित्व गरिरहेको छ । बास्तबमा अमेरिका सोचाईभन्दा फरक भएको देश हो । यँहाको सडक, पुललगायत विकास निर्माणका पुर्वाधारहरु संसारका लागि अद्वितीय बनेका छन् । मात्र फरक के छ भने जीवन भोगाइको ।
अनेकाँै सपना बोकेर आउनेहरुका लागि अमेरिका नसोचेको जस्तो लाग्न सक्छ किनभने अमेरिका सोचेको जति सजिलो चाँहि अवश्य छैन । सामाजिक परिवेशमा रमाएकाहरुका लागि अमेरिकाको “यान्त्रिक जीवन” कष्टकरमात्र होइन निराशाजनक पनि छ ।
पोखराबाट उच्च अध्ययनका क्रममा यँहा अमेरिका आइपुगेका नवीन गुरागाँइ गत साल म्यासाचुसेट्सको राजधानी सहर बोष्टनमा सुनाएका स्मरणहरु कति मर्मस्पर्शी रहेका छन् । पोखरामा शानको होटल व्यवसाय छाडेर अमेरिककाको समृद्धशाली जीवनको कल्पनामा आइपुगेका नवीन पनि आशा भन्दा निराशाका क्षणहरु बढी भेटिएका छन् ।
अफ्रिका, एशिया, दक्षिण अमेरिका र युरोपका कतिपय देशका नागरिकका लागि पनि अमेरिका ड्रिमल्याण्ड अर्थात स्वप्नको देश हो । गगनचुम्बी महलहरु, कैयाँै फराकिला सडक, व्यवस्थित बसाइलगायत टेक्नोलोजीका हरेक क्षेत्रमा अमेरिकाले गरेको प्रगति र तेस्रो मुलुकहरुमा गरिने अमेरिकाको चर्चाका कारण संसारभरका मानिसहरुको आकर्षणको स्थल बन्नु अस्वभाविक होइन तर पनि यँहाका जीवनशैली धेरैका लागि सहजपुर्ण छैन । नेपालबाट इडिभी परेर अमेरिकाका आएका विराटनगरका सुरज शाक्य, एक बर्षभन्दा बढी अमेरिका बस्न सकेनन् र नेपाल फर्किए । गत बर्ष नेपालमा भेट हुँदा अमेरिका फर्कने सोच नभएको उनले बताएका थिए ।
समग्रमा भन्नुपर्दा अमेरिका विश्वको अति विकसित र संसारलाई लिड गर्दै आएको महाशक्ति राष्ट्र हो । तर, विगत केही बर्षयता यँहा बढेको आर्थिक मन्दीका कारण कामको खोजीमा भाँैतारिनेहरुको संख्या बढी भएको छ । सोचे जस्तो कामको त करै छाडाँै, काम पाउन पनि मुश्किलको स्थिती छ । अमेरिका आउनुपुर्व यँहाको बस्तुस्थितीको बारेमा राम्रो जानकारी लिएर वा कुनै प्रकारको सीप सिकेर आउँदा राम्रो हुन्छ । बाहिरबाट देखिएको अमेरिका र भित्र भोग्ने अमेरिकाका बीचमा व्यापक असमानता रहेको छ । फेरी अहिले ट्रम्प राष्ट्रपति बनेपछि त अमेरिका आप्रबासीका लागि फलामको चिउरा भएको छ ।