कलाकार, नेता र खेलाडीमात्र होइन नयाँ ढंगले काम गर्दा देशमा अन्य व्यक्तिहरु पनि सेलिब्रेटी बन्न सक्छन् भन्ने कुरा बैंकर अनिल शाहले प्रमाणित गरेका छन् । युवा अवस्थामै बैंकको सफल सिईओ भएर चर्चा कमाएका शाह सकारात्मक सोच्ने र देशलाई सधैं आर्थिक समृद्धिमा डो¥याउन पहल गर्ने व्यक्ति हुन् । हाल मेगा बैंकका सिईओ उनी गत महिनादेखि नेपाल बैंकर्स एशोसियनको समेत सर्वसम्मत अध्यक्ष भएका छन् । उनै शाहसँग बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे कुराकानी ः बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन (बाफिया) पास भएको छ, बैंकिङ क्षेत्रमा यसको प्रभाव कस्तो होला ? बाफिया आउन धेरै ढिला भयो । बाफिया भनेको वित्तीय क्षेत्रको संविधान हो । यसको विषयमा धेरै छलफल भयो । बल्ल पास भएर लालमोहर लाग्न बाँकी छ । यसको कार्यान्वायनलाई हामीले पर्खिरहेका छौं । कुनै बुँदा मन नपरे पनि यसलाई कार्यान्वायन गर्न हामी तयार छौं । बैंकको कार्यकारी अध्यक्षलगायतका प्रावधानमा भने हामी अलिकति अचम्मित परेका छौं । पहिला छलफलमा हुँदै नभएका कुराहरु अहिले आएका छन् भन्ने सुनेका छौं । हुन त हामीले भनेको सबै चिज आउ‘छ भन्ने पनि हामीलाई लागेको थिएन । जे आएपनि सकारात्मक रुपमा बाफियालाई हामी कार्यान्वायनमा लैजाने छौं । ऐनमा ठूलो विवाद भयो, बैंकका प्रमोटरहरुले आफ्नो स्वार्थअनुुसार संशोधन गरे भन्ने पनि छ नि ? एक जना नेपालीको हिसाबले म के भन्छु भने मेरो संसदले जुन कानुन बनाउ‘छ, त्यो कुनै एउटा वर्ग र समूहलाई लक्षित गरेर बनाउ‘दैन । मलाई त्यसमा बिश्वास लाग्दैन । कुनै एउटा समूहलाई हेरेर पक्कै पनि संसदले कानुन बनाएको होइन । कुनै कुनै बुँदामा उहॉहरुलाई फाइदा हुने कुरो झल्किएला । तर, सिंगो संसदले नै कुनै व्यक्तिहरुको स्वार्थमा कानुन बनाउ‘छ भने त त्यो सबै जनताको चिन्ताको विषय हो । मलाई लाग्छ बाफिया ऐन त्यसरी कुनै व्यक्ति वा समूहको स्वार्थमा संशोधन हुन लागेको होइन । समग्र वित्तीय क्षेत्रको लागि बाफिया संशोधन भएको हो । यसको वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव नै रहने छ भन्ने मलाई विश्वास छ । अहिले बैंकहरुले राष्ट्र बैंकले जारी गरेको रिपो लिएका छैनन्, अनि तरलता अभाव भयो भनेर ब्याजदर बढाए भन्ने आरोप छ नि ? बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गरेपछि मात्रै ८० रुपैयाँ कर्जा प्रवाह गर्छ । २० रुपैयाँमध्ये ६ रुपैयाँ राष्ट्र बैंकमा राख्नुपर्छ, १४ रुपैयाँ चाहि‘ नेशनल सेक्युरीटी बन्ड, ट्रेजरी बिल्समा लगानी गर्नुपर्छ । किन त्यो २० प्रतिशत राख्नुपर्छ भन्दाखेरी सर्वसाधारणहरुले आफूले डिपोजिट गरेको पैसा निकाल्छु भनेर आउ‘लान् । कसैले एकैपटक धेरै पनि निकाल्न आउन सक्छ । सय रुपैयाँमा सय रुपैयाँ नै लगानी ग¥यौं भने निक्षेपकर्ताहरुलाई तत्काल फिर्ता गर्न सक्दैनौं । त्यही भएर सबै देशहरुमा तरलताको रेसियो (सिआरआर) कायम राख्नुपर्छ । राष्ट्र बैंकबाट रिपो लि‘दा पनि ८० प्रतिशत हाम्रँे जुन कर्जा दिने फन्ड हो, त्यसलाई कुनै प्रभाव नै गर्दैन । राष्ट्र बैंकबाट पैसा लिएर अहिलेको तरलता समस्या समाधान नै हुँदैन । टाउको दुखिरहेका बेला पेटको औषधी खाएर हुँदैन । अहिलेको तरलताको समस्या समाधान गर्न सरकारले बजेट खर्च गर्नुपर्छ । २ सय ५० अर्बभन्दा धेरै नेपाल सरकारको खातामा जम्मा भएर बसेको छ । त्यसलाई खर्च नगरेसम्म न त देशको विकासले गति लिन्छ न त तरलता नै समस्या समाधान हुन्छ । यदि त्यसो गर्न सकि‘दैन भने ८० र २० प्रतिशतको जुन रेसियो छ त्यसलाई बढाउने गरी मार्केटमा फन्डहरु ल्याउनुपर्छ । ८० प्रतिशतलाई बढाउनुपर्छ । बैंकहरुको सिसिडि रेसियो ७९ प्रतिशत पुगिसकेको छ । कर्जा दिन मिल्ने पैसा बैंकहरुसँग एक प्रतिशत मात्र छ, बैैंकहरुले कर्जा नै दिन नसक्ने अवस्था आयो भने देशको अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्न सक्छ । हामीले अर्थमन्त्रीज्यू र राष्ट्र बैंकलाई पनि यो आग्रह गर्दै आएका छौं । बैंकहरुको नाफा बढ्दै छ, देशमा वित्तीय साक्षरता चाही कत्तिको बढेको छ ? नेपालमा लामो समयदेखि हामीले वित्तीय साक्षरता बढाउने काम गरिरहेका छौं । सरकार र अन्य विभिन्न संस्थाहरुले पनि काम गर्दै आएका छन् । त्यसको सकारात्मक प्रभाव अहिले पाइरहेका छौं । एक करोड ३६ लाख भन्दा धेरै जनताले बैंकमा खाता खोलिसक्नुभएको छ । करिब ८ लाख मान्छेले बैंकबाट कर्जा लिनुभएको छ । हामी वित्तीय सस्थाहरुले नाफा पनि कमाउनुपर्छ । साथै विश्वास बढाउन पनि काम गर्नुपर्छ । १८ खर्ब ३५ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप बैंकहरुमा जम्मा भइसकेको छ । एक करोड ३६ लाख नेपाली जनताको पैसा हो यो । त्यसलाई सुरक्षित राख्ने दायित्व हामीहरुको हो । यो २ वटा दायित्वलाई सँगसँगै हामीले अगाडि बढाउनुपर्छ । जसरी पनि नाफा लाभांस बाढ्नेतर्फ लागेर मात्र पनि हुँदैन । नाफा र सुरक्षालाई हामीले सँगसँगै अगाडि बढाउनुपर्छ । त्यो सजिलो काम पनि होइन । १४ खर्ब ९५ अर्ब कर्जा हामीले दिइसकेका छौं । ७ लाख ६२ हजार व्यक्तिहरुले बैंकबाट कर्जा लिइसकेका छन् । धेरैजसो उद्योग व्यवसायमा बैंकहरुको लगानी छ । नेपालको बैंकिङ क्षेत्रमा करिब ४० वर्षको अवधिमा बैंकिङ क्षेत्रले केही कमाई गरेको छ भने त्यो जनताको विश्वास हो । सामान्य किसानदेखि ठुला व्यक्तिहरुले बैंकप्रति भरोसा र बिश्वास छ । बैंकमा पैसा राख्यो भने सुरक्षित हुन्छ भन्ने बिश्वास छ । क वर्गको बैंकमा राखेको १ रुपैयाँ पनि कसैको गुमेको छैन । यो बिश्वासलाई हामीले अझै मजबुत बनाएर लैजाने छौं । यो आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म बैंकहरुको प्रगति कस्तो छ ? यो आर्थिक वर्षको पहिलो तीन महिना एकदमै राम्रो भयो । समयमै बजेट आएको थियो । सरकारले अबचाही आर्थिक विकासको मुद्दालाई प्राथमिकतामा राख्यो भनेर हामी सबै उत्साहित भएका थियौ । पहिलो त्रैमासिकमा कर्जा पनि धेरै गयो । तर अहिले सरकारको आम्दानी खर्चभन्दा धेरै माथि गयो । त्यो भनेको के भने नेपाली जनताले अनुमान गरेभन्दा धेरै काम गरे । बढी काम गरेर सरकारलाई धेरै कर तिरे । तर त्यो पैसालाई सरकारले विकास निर्माणमा खर्च गर्न सकेन । १३ प्रतिशत मात्र खर्च भएको छ । त्यसकारण सबै पैसा गएर नेपाल सरकारको ढुकुटीमा जम्मा भएको छ । बजारमा पैसा आएन र तरलताको संकट भयो । पहिलो त्रैमासिककको तुलनामा दोस्रो त्रैमासिक त्यति राम्रो हुँदैन कि भन्ने डर लागिरहेको छ । अहिले सबैभन्दा धेरै कर्जाको माग कुन क्षेत्रमा छ ? अहिलेको सबैभन्दा राम्रँे कुरा के छ भने कुनै एउटा क्षेत्रमा मात्र अहिले कर्जा गइरहेको छैन । पर्यटन, उत्पादन क्षेत्र, हाइड्रोमा कर्जा गइरहेको छ । त्यस्तै घर, गाडिमा मा धेरै कर्जा गइरहेको छ । कुनै एउटा क्षेत्र डुब्दा पनि बैंक किन डुब्दैन भने हामीले सबै क्षेत्रमा लगानी गरेका छौ‘ । कुनै न कुनै क्षेत्रले त राम्रो गरिरहेकै हुन्छ । अहिले पनि बैंकहरु कुनै एउटा क्षेत्रमा मात्र केन्द्रित छैन । मेगा बैंकको अन्य बैंकसँग मर्जर प्रक्रिया कहाँ पुग्यो ? मेगा बैंकसँग पश्चिमाञ्जल विकास बैैंक मर्ज भइसकेको छ । हाम्रो बैंकको बोर्डले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भनेर निर्णय गरीसकेको छ । हालै मात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरका लागि सम्झौता भएको छ । उहाँहरुले पनि १ः१ हकप्रद शेयर जारी गर्दै हुनुहुन्छ । मर्जरभएपछि हाम्रो चुक्ता पूँजी ९ अर्ब ५० करोड पुग्नेछ । राष्ट्र बैंकले ८ अर्ब तोकेकोमा हाम्रो त्यो भन्दा बढी चुक्ता पूँजी हुने छ । मेगा बैंकले प्रान्तीय कार्यालय खोल्ने बताउनुभएको थियो, के भइरहेको छ ? त्यो प्रक्रिया अघि बढिसकेको छ । सुरुमा हामीले बुटवलमा प्रान्तिय कार्यालय बनाउछौं । प्रदेशहरुको राजधानी कहाँ हुने तय नभएकाले हामीलाई पनि कहाँ प्रान्तिय कार्यालय खोल्ने भनेर निर्णय गर्न गाह्रो भइरहेको छ । त्यसकारण प्रान्तको राजधानी तय भएलगत्तै हामी त्यहाँ प्रान्तिय कार्यालय खोल्ने छौं । बैंकिङ एशोसियसनको अध्यक्षका रुपमा यो क्षेत्रलाई के योगदान दिने योजना बनाउनुभएको छ ? बैकिङ क्षेत्रमा कहिले अधिक तरलता त कहिले तरलता अभावको समस्या आइरहन्छ । यस्ता समस्या सहज बनाउन नै हामी सक्रियताका साथ लाग्दै आएका छौं । मेरो यो २ वर्षको कार्यकालमा आर्थिक समृद्धिमा सरकारलाई सघाउने नै प्रमुख योजना छ । अब प्रान्तमा चुनाव भएपछि नयाँ मुख्यमन्त्रीहरु आउनुहोला । हरेक प्रँन्तहरुको फरक फरक भिजन र योजना होला । त्यहाँको आर्थिक समृद्धिका लागि हामीले सहयोग गर्छाै । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुुटु हो भन्ने कुरा बुझाउछौं । त्यसकारण हातमा हात मिलाएर जनतास‘ग पार्टनरशीप गरेर अघि बढ्न चाहन्छौं । यो निकै ठुलो चुनौतीपूर्ण हो जस्तो लाग्छ । आर्थिक क्रान्ति र आर्थिक रुपान्तरणमा सघाउने छौ । हामी ठिक बाटोमा हिड्यौं भनेर लडेर पनि गन्तव्यमा पुगौंला त बाटो नै गलत हिड्यौं भने र जति छिटो गएपनि गन्तव्यमा पुग्न सक्दैनौं । त्यसकारण ठिक बाटोमा देशलाई अघि बढाउन सघाउने नै बैंकर्स एशोसियनको भूमिका हुने छ । प्रस्तुति ः पार्वती धरेल