काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको उल्लेख आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने, शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा आज बिहान ट्विट गर्दै धन्यवाद व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’’
सोमवार रातिदेखि पेटमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार विहान अस्पताल भर्ना गरिएको थियो । मंगलबार नै उहाँको एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
अहिले स्वास्थ्यमा सुधार आएको भएपनि केही दिन चिकित्सकै निगरानीमा बस्न सुझाव दिइएको अस्पताल स्रोतले जनाएको छ ।



















