काठमाडौं,
नेकपाभित्र एकता प्रक्रियाले गति लिएको छ । केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड अघि बढएको छ ।
पूर्वएमालेको भागमा परेको संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुख तोकिएको हो।
बिहीबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पूर्वएमालेका तर्फका सचिवालय सदस्यको बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको छ । यद्यपी धेरैले यो निर्णयमा असन्तुष्टि जनाएका छन् ।
स्कुल विभागमा अर्का सचिवालय सदस्य ईश्वर पोखरेललाई पठाउने निर्णय भएको हो भने सचिवालय सदस्य माधव कुमार नेपाललाई विदेश विभागको जिम्मेवारी दिइएको छ। नीति तथा प्रतिष्ठान विभाग भने झलनाथ खनालले सम्हाल्ने भएका छन्।
नेकपामा ३२ केन्द्रीय विभाग छ। तीमध्ये १८ वटा पूर्वएमालेको भागमा छ भने बाँकी पूर्वमाओवादी केन्द्रले पाएको छ।
पार्टी अध्यक्ष र महासचिवले विभागको नेतृत्व नलिने नेकपामा सहमति छ । जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले कुनै विभागको नेतृत्व गर्ने छैनन्। पौडेलले आर्थिक विभागमा इच्छा देखाएको भए पनि भागबन्डा गर्दा त्यो विभाग पूर्वमाओवादीको भागमा परेको छ।



















