काठमाडौँ । गुडिरहेको स्कुटरमा विषालु सर्प भेटिए पनि दाङको घोराहीमा एक महिलाले ज्यान जोगाउन सफल भएकी छिन्। घोराही उपमहानगरपालिका–१५ मित्रनगर टोलकी राजेश्वरी चौधरीले चलाइरहेको स्कुटरमा अचानक विषालु गोमन सर्प देखा परेको हो।
स्कुटरको अघिल्लो भागबाट सर्प निस्किएपछि चालक चौधरीले तत्कालै संयमता अपनाएर स्कुटर रोकेकी थिइन्। गर्मी बढेसँगै सितल खोज्दै सर्पहरू सवारी साधनका इन्जिन वा ओसिलो भागमा लुक्ने गरेका घटना पछिल्लो समय नेपालमा बढ्दै गएका छन्।
उक्त सर्पलाई स्थानीय सर्प उद्धारकर्ताले सुरक्षित रूपमा जीवितै उद्धार गरेका छन्। उद्धार गरिएको गोमनलाई डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ। वन कार्यालयका अनुसार उक्त सर्पलाई सुरक्षित प्राकृतिक बासस्थानमा छाडिनेछ।
नेपालको तराई र भित्री मधेश (दाङ सहित) मा गर्मी र वर्षायामको सुरुवातमै गोमन र करेतजस्ता अत्यन्तै विषालु सर्पहरू सक्रिय हुन्छन्। विज्ञहरूका अनुसार सवारी साधन घरबाहिर वा खुला ठाउँमा पार्किङ गर्दा इन्जिनको तातो वा सुरक्षा खोज्दै सर्प भित्र पस्न सक्छन् त्यसैले सवारी चलाउनुअघि हेडलाइट, इन्जिनको भित्री भाग र सिट मुनि चेकजाँच गर्न सुझाव दिइएको छ। रासस

















