काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारु रूपले सञ्चालन भइरहेको जानकारी दिइन् ।
मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन् ।
सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उनले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रवन्ध मिलाइएको स्पष्ट पारिन् । मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको बताउँदै उनले निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेको दाबी गरिन् ।
आयुक्त तुलाधरका अनुसार निर्वाचन आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ । सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकुन् भन्ने उद्देश्यले आयोगले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको हुनाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत खसाल्न आयोगले सम्पूर्ण मतदाताहरूलाई आग्रह समेत गरिन् ।
तुलाधरले आम महिला मतदाताहरूलाई आफ्नो घरायसी काम सकेर समयमै मतदान केन्द्रमा पुगी मताधिकार प्रयोग गर्न विशेष अपील गरेकी छन् ।
तथ्याङ्कगत रूपमा देशमा महिलाको जनसङ्ख्या बढी भए पनि विगतका निर्वाचनहरूमा महिला मतदाताको मत खस्ने प्रतिशत पुरुषको तुलनामा कम देखिने गरेको रेकर्डलाई मध्यनजर गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
उनले यसपटक महिलाहरूको मतदान प्रतिशत बढाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । मतदान गर्न जाँदा मतदाताहरूले परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने कुरा पनि उनले स्मरण गराइन् ।
आयोगले मतदानका लागि ६ वटा विभिन्न परिचयपत्रहरूलाई मान्यता दिएको छ । आयुक्त तुलाधरकाअनुसार मतदाताले नागरिकताको प्रमाणपत्र, जग्गाधनी लालपूर्जा, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र मध्ये कुनै एउटा परिचय खुल्ने कागजात साथमा लिएर गएमा सहज र सरल तरिकाले मतदान गर्न पाउनेछन् ।



















