काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् भने चौधरी शंकास्पद वस्तुसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा पक्राउ गरिएको हो ।
चौधरी सवार गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेपछि उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।



















