दाङ । घोराही उपमहानगरपालिका–४ का बामदेव गुरुङ पुनः एमालेमा फर्किएका छन् । केही समयअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गुरुङलाई एमाले केन्द्रीय सदस्य सुजिता शाक्यले पुनः एमालेमा फर्काएकी हुन् ।
गुरुङले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पुनः एमालेमै सक्रिय भएर काम गर्ने निर्णय लिएको बताए । लामो समयदेखि एमालेको संगठन निर्माण र स्थानीय तहको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनी अब एमालेमै रहेर देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गुरुङको पुनरागमनले वडा नम्बर ४ सहित घोराही क्षेत्रमा एमाले संगठन थप बलियो हुने नेतृ शाक्यको विश्वास छ । एमालेले पछिल्लो समय जिल्लामा संगठन विस्तार र कार्यकर्ता एकतामा जोड दिँदै अभियान चलाइरहेको छ । उनीसँगै दर्जनौ नेता तथा कार्यकर्ता एमाले फर्किएको बताइएको छ ।



















