दाङ । दाङ–१ मा चुनाव नजिकिँदै गर्दा नेकपा भित्र असन्तोष चर्किएको छ। दाङ क्षेत्र नम्बर १ का नेकपाका ४७ जना संगठित सदस्यले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) लाई समर्थन गर्ने घोषणा गरेका छन्।
नेकपाले दाङ–१ मा साविक एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसीले बागी उम्मेदवारी दिएका थिए। आधिकारिक उम्मेदवारको सट्टा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको भन्दै पार्टीले कारबाही थालेपछि पूर्वमाओवादी खेमाका नेता–कार्यकर्ताले देउखुरीको मौरीघाटमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा पत्रमा उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको उल्लेख गरिएको छ। साथै, स्वतन्त्र उम्मेदवार केसीको पक्षमा उभिएर चुनावी प्रचार–प्रसारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
चुनावको मुखमै ठूलो संख्यामा पूर्वमाओवादी कार्यकर्ताले पार्टी छाडेपछि नेकपाका आधिकारिक उम्मेदवार चौधरीलाई असर पर्ने स्थानीयको अनुमान छ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका रेवतिरमण शर्मा घिमिरे, नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकलगायत उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।



















