अमेरिका । सोमबार बिहान अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र बीभत्स हत्याकाण्ड भएको छ । ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियारले अन्धाधुन्ध प्रहार गरी श्रीमती र छोरीको हत्या गरेका छन्।
बिहान करिब ५:१५ बजे पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो, जहाँ प्रहरी प्रमुख केभिन डेभिसले उक्त दृश्यलाई “कल्पनाबाहिरको बीभत्स र भयावह” भनी वर्णन गरेका छन्।
घटनाको समयमा छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। भित्र झगडा भएको आवाज सुनेर ९११ मा फोन गर्दै उनी घरभित्र पस्दा आफ्नी श्रीमती ३१ वर्षीया ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा फेला पारे। उनीहरुको हत्यापछि छत्रबहादुरले सन्तोषमाथि पनि सोही हतियारले आक्रमण सुरु गरेका थिए।
प्रहरी अधिकारीहरू घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि प्रहार गरिरहेको अवस्थामा फेला पारेका थिए। प्रहरीले पटक-पटक हतियार फाल्न दिएको आदेश नमानेपछि एक युवा प्रहरी अधिकारीले गोली चलाउँदा आक्रमणकारी छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको छ।
यस भीषण आक्रमणमा परी बिन्दा थापा र ममता थापाको मृत्यु भएको छ भने गम्भीर घाइते सन्तोष कुमार बस्नेतको अवस्था अत्यन्तै नाजुक रहेको छ।
उक्त घरमा रहेका एक वर्षीय शिशु भने भाग्यवश पूर्ण रूपमा सुरक्षित रहेका छन्। अनुसन्धानका क्रममा यो परिवारको यसअघि कुनै आपराधिक पृष्ठभूमि वा प्रहरीमा उजुरी नभएको पाइएको छ।
आफ्नै परिवारका सदस्यहरूको ज्यान लिने गरी भएको यस दुःखद हिंसाको वास्तविक कारणबारे स्थानीय प्रहरीले अहिले गहन अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाबारे जानकारी दिन नजिकका आफन्तहरुको खोजी गरिरहेको छ ।
(अमेरिका नेपालीहरुले सञ्चालन गरेको खसोखासडटकमबाट)



















