काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गर्न खोज्दा पनि अवरोध सिर्जना गरिने अवस्था रहेको बताएका छन्।
झापा–५ मा सोमबार आयोजित चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले एक कार्यकाल पूरा गर्न आफूले चार पटक प्रधानमन्त्री हुनुपरेको उल्लेख गरे। प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओलीले भने,
“ठ्याक्कै उभिएर विकास हुँदैन। पहिलाको ठाउँभन्दा अलिकति अगाडि पाइला सार्नुपर्छ, तब मात्रै यात्रा हुन्छ। नयाँ ठाउँमा टेक्दा सबैले बुझ्दैनन्।”
रेल र पानीजहाजको योजना अघि बढाएको प्रसंग उल्लेख गर्दै उनले भने, “मैले रेल फेरि किन सुरु गरेँ? किन पानीजहाजमार्फत समुद्रमा पुग्ने कुरा गरेँ? त्यसका लागि काम भइरहेको थियो। तर सुरु गर्छु, सरकार भत्काइन्छ। फेरि सुरु गर्छु, फेरि भत्काइन्छ। एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्यो।”
उनका अनुसार राम्रो काम गर्न खोज्दा पनि त्यसो हुन नदिने प्रयास भयो। “देशभक्तिको काम गर्नै नहुने जस्तो अवस्था बनाइन्छ। औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र र बाहिरका अनेक शक्ति लागेका छन्। गम्भीर कुरा गर्दा पनि मजाक उडाइन्छ, उखान–टुक्का भन्यो भनेर आलोचना गरिन्छ,” उनले भने।
ओलीले विभिन्न शास्त्र र इतिहासका उदाहरण दिएर गम्भीर विषय उठाउँदा पनि त्यसलाई हल्का रूपमा प्रस्तुत गरिने गरेको गुनासो गरे। “त्यसैले हामीले काम गर्न छोड्नु हुँदैन। यसलाई अगाडि बढाइन्छ,” उनले जोड दिए।
संसारका सबै ठूला सहरमा सभागृह, सामुदायिक भवन र रंगशालाहरू हुने उल्लेख गर्दै उनले आफूले रंगशाला बनाउन खोज्दा समेत विरोध भएको बताए।




















