काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठन निर्माणका लागि रणनीतिक सम्मेलन महत्वपूर्ण हुने बताएका छन्।
नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै गृहमन्त्री अर्यालले जेनजी प्रदर्शनका कारण भौतिक तथा मानसिक रूपमा कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले आम नागरिकको अपेक्षाअनुसार प्रहरी संगठनलाई अझ प्रभावकारी बनाउने दिशामा सम्मेलन उपयोगी हुने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त राय र सुझावलाई समेटेर अघि बढ्न गृह मन्त्रालयको पूर्ण साथ रहने बताए। साथै, प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याबारे सम्मेलनमा गहन छलफल हुने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको विकाससँगै पछिल्लो समय बढ्दै गएका विभिन्न किसिमका अपराध नियन्त्रणमा यस्ता सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले भने, “परम्परागत अपराधसँगै संगठित अपराध, साइबर अपराध तथा अन्तरराष्ट्रियस्तरमा हुने अपराधका कारण मुलुक र समाज जटिल बन्दै गएको छ। यस्ता अपराध नियन्त्रणका उपायबारे सम्मेलनमा गहन छलफल हुनेछ।”
समाजमा बढ्दो अपराध नियन्त्रणका लागि विषयविज्ञको राय र सुझाव लिन सम्मेलन आयोजना गरिएको पनि उनले बताए।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा समाजमा हुने विभिन्न प्रकारका अपराध र तिनको नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।




















