काठमाडौं । राष्ट्रियसभाका नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हालसम्म फैसला नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढुंगानाले उक्त विषय उठाएका हुन्। उनले सर्वोच्च अदालतका न्यायाधीशहरू यस विषयमा कमजोर र निरीह देखिएको टिप्पणी गरे।
पञ्चायतकालको उदाहरण दिँदै उनले त्यसबेला पनि महत्वपूर्ण मुद्दाहरूको छिटो किनारा लगाइने गरेको स्मरण गराए। अहिले भने संसद् पुनर्स्थापनाजस्तो गम्भीर विषयमा पनि फैसला हुन नसक्नु चिन्ताको विषय भएको उनको भनाइ छ।
‘यो देशको राष्ट्रियता कमजोर बन्दै गएको छ। संसद् पुनःस्थापनासम्बन्धी मुद्दा अदालतमा परेको छ, तर न्यायाधीशहरू निरीहजस्तै देखिनुभएको छ,’ उनले भने, ‘पञ्चायत र राजाको शासनकालमा समेत राजकाजसम्बन्धी मुद्दामा तत्काल फैसला हुने गर्थ्यो, तर अहिले त्यो अवस्था देखिँदैन।’
सांसद ढुंगानाले सरकारसमेत राष्ट्रिय हितका विषयमा आवश्यक ध्यान दिन नसकेको आरोप लगाए। संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा ढिलाइ हुँदा देशको लोकतान्त्रिक अभ्यास कमजोर बन्न सक्ने भन्दै उनले समयमै निर्णय लिन आग्रह गरे।




















