काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ भनिएका राजनीतिक दलहरू सत्तामा पुग्ने हतारमा लागेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम सिर्जना गर्दै नयाँ भनिएका पार्टीहरू सत्ता हासिल गर्न आतुर रहेको आरोप लगाए।
उनले नयाँ पार्टीहरूले ‘विचार केही होइन, पार्टी र नेता भए पुग्छ’ भन्ने पूँजीवादी संस्कार अंगिकार गरिरहेको जिकिर गरे। विचार र सिद्धान्तलाई बेवास्ता गर्दै व्यक्तिकेन्द्रित राजनीति अघि बढाइएकोप्रति उनले आलोचना गरे।
महासचिव विप्लवले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राखिएको पनि उल्लेख गरे। “विचार केही होइन, पार्टी र नेता भए हुन्छ भन्ने धारणा अहिले नयाँ भनिनेहरूको सिद्धान्त बनेको छ,” उनले भने, “सिद्धान्त र विचारको कुरा गर्नु हुँदैन भन्ने सोच पूँजीवादी र लोकप्रियतावादी प्रवृत्तिको परिणाम हो। मान्छे देखाउने, भ्रम छर्ने र छिट्टै सत्तामा पुग्ने चाहना नै यसको आधार हो।”
उनले यस्तो प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट गर्दै विचार र सिद्धान्तमै आधारित राजनीति आवश्यक रहेको धारणा राखे।
महासचिव चन्दले कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर गलत प्रचार गरिएको भन्दै त्यसप्रति आपत्ति जनाए।
“हामी एकता प्रक्रियाबाट पछि हटेका हौं भन्ने भ्रम फैलाइएको छ, तर त्यो सत्य होइन,” उनले स्पष्ट पारे।



















