काठमाडौँ । काठमाडौंका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौंको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको आज मृत्यु भएको छ ।
बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । त्यसैगरी काठमाडौं महानगरपालिका–४ सुकेधारा चोकस्थित सडकमा प्र.२–०३–००१ ख ७०३४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं काभ्रेस्थली बस्ने सङ्खुवासभा घर भएका २३ वर्षीय मिलन योञ्जनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण जनसाहरा चोकस्थित सडकमा बा.७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)




















