काठमाडौं । शहीद दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमर शहीदहरूको बलिदानकै कारण देशमा लोकतान्त्रिक अधिकार स्थापित भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले आजको दिन केवल क्यालेन्डरको एउटा मिति जस्तो देखिए पनि विगतमा स्वतन्त्रता प्राप्तिका लागि भएको संघर्ष स्मरण गर्नुपर्ने दिन भएको उल्लेख गरेका छन्।
उनले वि.सं. १९९७ सालमा प्रजातन्त्रको पक्षमा आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गर्दै निरङ्कुश र जहानियाँ शासनको अन्त्य गर्दै लोकतान्त्रिक अधिकार स्थापनाको बीउ त्यही समय रोपिएको बताए।
ओलीले कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको परिणामस्वरूप आज समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको उल्लेख गरेका छन्। साथै, ऐतिहासिक विरासतलाई स्मरण गर्दै उनले अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
शहीदहरूको बलिदानको मूल्य कहिल्यै नबिर्सिने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै ओलीले शहीद दिवसले सबैलाई त्याग, संघर्ष र राष्ट्रप्रेमको भावना स्मरण गराउने बताएका छन्।




















