काठमाडौं । नेकपा एमालेका महासचिव तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दाङ–२ का उम्मेदवार शंकर पोखरेलले दाङको समग्र विकासलाई राष्ट्रको नेतृत्वकारी तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजनीतिक यात्रा र आगामी योजनासहितका प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
लुम्विनी प्रदेशको मुख्यमन्त्री समेत भएका पोखरेलले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा गरेको उल्लेख गर्दै संघीयता कार्यान्वयनको नेतृत्व आफूले गरेको दाबी गरेका छन्। दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका खेलेको, पानीमुनी पुल भएको जिल्लाको छवि परिवर्तन गरेको तथा प्रमुख अस्पताललाई रिफरल केन्द्रबाट विशेषज्ञ सेवा दिने अवस्थामा पुर्याउन सहजीकरण गरेको उनको भनाइ छ।
उनले उच्च प्राविधिक शिक्षाको आधारशीला निर्माणमा योगदान दिएको र राजनीतिमा इमान्दारिता तथा स्वच्छ छविको व्यक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको पनि बताएका छन्। प्रतिनिधित्व गर्ने अवसर पाउँदा दाङवासीको गौरव बढाउने काम गरेको र पराजयका बेला पनि जिल्लावासीको सेवामा निरन्तर समर्पित रहेको उनको उल्लेख छ।
पोखरेलले अब दाङलाई राष्ट्रको नेतृत्वकारी भूमिकामा पुर्याउने समय आएको भन्दै दाङमा सुरु भएका महत्वपूर्ण योजना पूरा गर्ने र नयाँ योजना अघि बढाउने प्रतिवद्धता जनाएका छन्। “अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन, बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने दाङ बनाउने हो,” उनले उल्लेख गरेका छन्।
उनले सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष आग्रहसमेत गरेका छन्।
प्रमुख प्रतिबद्धताहरू
पोखरेलले आगामी दिनमा दाङको विकासका लागि निम्न प्रतिबद्धता अघि सारेका छन्–
लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने, ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ४ सय बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने, मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने।
त्यसैगरी गुहारखोला हाइड्याम तथा नहर प्रणाली विकास गर्ने, ७२ सिटे जहाज उडान–अवतरण गर्न सक्ने गरी तुल्सीपुर विमानस्थल विस्तार गर्ने, प्रमुख बस्तीका ग्रामीण सडक कालोपत्रे गर्ने र शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यार्थी संख्या वृद्धि गर्ने, स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत किसानको जीवनस्तर उकास्ने, उद्यम गर्न चाहने युवालाई विनाधितो सहुलियत ऋणको व्यवस्था गर्ने तथा नयाँ लगानीकर्तालाई निश्चित अवधिसम्म आयकर छुट दिने योजना पनि उनको घोषणापत्रमा समेटिएको छ।
यस्तै सम्भाव्य खोला–स्रोतमा कृत्रिम जलाशय निर्माण गरी सिँचाइ सुविधा विस्तार गर्ने, घोराहीदेखि बंगलाचुलीको खानी क्षेत्र जाने सडक ढलान सडक बनाउने, प्रदेश राजधानीको गुरुयोजना कार्यान्वयन गर्ने र केन्द्रीय घोषणापत्रका प्रतिबद्धता पूरा गर्न नेतृत्वकारी भूमिका खेल्ने उनले बताएका छन्।
पोखरेलले “दाङको विकास, दाङवासीको सम्मान — सबल दाङ, समृद्ध नेपाल” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको जनाएका छन्।
उनले सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेको प्रतिवद्धता जस्ताको तस्तै –
मैले वाचा गरेँ — दाङलाई प्रदेशको राजधानी बनाउँछु।
वाचा पूरा गरेँ।
लुम्विनी प्रदेशको संस्थापक मुख्यमन्त्रीका रुपमा संघियता कार्यान्वयनको नेतृत्व गरें ।
दाङको पूर्वाधार विकासको आधारभूत foundation तयार गर्न भूमिका खेलें ।
पानीमुनीको पुल भएको जिल्लाको परिचय बदल्ने कामको नेतृत्व गरें ।
प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासम्म पुर्याउन सहजिकरण गरें।
उच्चप्राविधिक शिक्षाको आधारशीला तयार पार्न भूमिका खेलें ।
राजनीतिमा इमान्दारिता र स्वच्छ छविको व्यक्तिका रुपमा आफुलाई उभ्याउन सफल रहें ।
जतिवेला दाङको प्रतिनिधित्व गर्ने अवसर पाएँ दाङवासीको गौरव बढाउने काम गरें । पराजय व्यहोर्दा पनि जिल्लावासीकै सेवामा निरन्तर समर्पित रहें ।
अब,
राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्याउने समय आएको छ।
दाङमा सुरु भएका महत्वपूर्ण योजनाहरू पूरा गर्नुछ,
नयाँ योजनाहरू अघि बढाउनुछ।
अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन —
बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने दाङ बनाउने हो।
यसपटकको मलाई निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजयी बनाउनुहोस्।
आदरणीय दङ्गाली दाजुभाई दिदीबैनीहरुका यी आकांक्षा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।
🔹 मेरा प्रमुख प्रतिवद्धताहरू 🔹
✅ लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने ।
✅ ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने ।
✅ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने ।
✅ मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने ।
✅ त्रिवि अन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने ।
✅ गुहारखोला हाइड्याम र नहर प्रणाली विकास गर्ने ।
✅ ७२ सिटे जहाज उडान/अवतरण गर्ने गरी तुल्सीपुर विमानस्थलको विस्तार गर्ने ।
✅ प्रमुख बस्तीका ग्रामीण सडक कालोपत्रे गर्ने ।
✅ शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गर्ने ।
✅ सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यार्थी संख्या वृद्धि गर्ने ।
✅ स्वास्थ्य बीमाको दायरा विस्तार र सेवाको सुनिश्चितता गर्ने ।
✅ कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको जीवनस्तर उठाउने ।
✅ उद्यमी वन्न चाहने युवाका लागि विनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने ।
✅ नयाँ लगानीकर्तालाई निश्चित अवधिसम्म आयकर छुटको व्यवस्था गर्ने ।
✅ सम्भाव्य खोला–सोतामा कृत्रिम जलाशय निर्माण गरी सिचाइ सुविधा विस्तार गर्ने।
✅ घोराहीदेखि वंगलाचुलीको खानी क्षेत्रजाने सडकलाई ढलान सड़क बनाउने।
✅ प्रदेश राजधानिको गुरु योजना कार्यान्वयन गर्ने।
✅ केन्द्रीय घोषणापत्रका प्रतिवद्धता पुरा गर्न नेतृत्वकारी भूमिका खेल्ने ।
दाङको विकास, दाङवासीको सम्मान —
सबल दाङ, समृद्ध नेपाल। 🌞




















