काठमाडौं । संसद् पुनर्स्थापनासम्बन्धी रिटमा चुनावअघि नै फैसला माग्दै आज बिहीबार सर्वोच्च अदालत जाने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको कार्यक्रम स्थगित गरिएको छ।
कांग्रेसका अनुसार ‘विशेष कारण’ देखाउँदै आजका लागि तय गरिएको कार्यक्रम रोकिएको हो।
कांग्रेसले जारी गरेको सूचनामा भनिएको छ, “डेलिगेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले उक्त कार्यक्रम स्थगित गरिएको जानकारी गराइन्छ।”
यसअघि कांग्रेसका निवर्तमान सांसदहरू आज बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम तय भएको थियो।
कांग्रेसका ६५ जना निवर्तमान सांसदहरूले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्।




















