काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले भदौ २३ र २४ गते भएका घटनाबारे तत्कालीन सरकार र प्रहरीलाई दोषी ठहर गर्नु अघि कार्की आयोगको प्रतिवेदन कुर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै बस्नेतले सेनाले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार भदौ २३ गते मृत्यु हुनेको संख्या १९ रहेको बताएका छन् । रवि लामिछानेका कारण जेलबाट भाग्ने क्रममा धादिङ, रामेछापलगायत स्थानमा मारिएका कैदीबन्दी १० जना रहेका छन्।
त्यस्तै, ‘जेनजीको आक्रोश’को नाममा पूर्व माओवादीसमेत संलग्न भीडद्वारा महाराजगञ्ज, कोटेश्वरलगायत स्थानका प्रहरी चौकीमा कुटपिट हुँदा ६ जना प्रहरीको मृत्यु भएको उल्लेख गरेका छन्।
भाटभटेनी लुटपाटका क्रममा भित्रै थुनिएर जलेका र पहिचान नखुलेका १३ जना तथा एनसेलका तीन वटा सेफ लुट्ने क्रममा फलामको ढिक्को टाउकोमा खसेर घटनास्थलमै एक जनाको मृत्यु भएको थियो।
मृतकहरूमध्ये १० जनाको अहिलेसम्म पहिचान खुल्न नसकेको र कसैले पनि “मेरो मान्छे” भनेर दाबी नगरेको उनले बताएका छन् ।
महेश बस्नेतले सामाजिक सञ्जालमार्फत उत्तेजना फैलाउने, ‘पानी बाँड्छु’ भन्दै मानिस भड्काउने तथा आगजनी हुँदा दमकल नपठाएको गतिविधि योजनाबद्ध रूपमा गराइएको दाबी गरेका छन् । केही पत्रकार तथा कलाकारका भड्काउपूर्ण अभिव्यक्ति, प्रस्तुति र स्टाटसले द्वन्द्व चर्काउन भूमिका खेलेको उनको भनाइ छ।
उनले भनेका छन्, “कागले कान लग्यो भन्नुभन्दा पहिले आफ्नै कान छामौँ। विदेशीको दलालको कुरा सुनेर लासको राजनीति नगरौँ।”
बस्नेतले भदौ २३ का घटनाका लागि तत्कालीन सरकार र प्रहरीलाई दोषी ठहर गर्नु अघि कार्की आयोगको प्रतिवेदन कुर्नु उपयुक्त हुने बताए। आयोगले छानबिन गरी तथ्य सार्वजनिक गर्ने उनको विश्वास छ।
उनले मृतक सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र सहयोग चुनावपछिको सरकारले उपलब्ध गराउने जनाएका छन् । सहिद घोषणा जस्तो संवेदनशील विषयमा निष्पक्ष र गम्भीर छानबिन आवश्यक रहेको उल्लेख गर्दै घाइतेहरूको उपचार, राहत र उद्धारको व्यवस्था गर्नुपर्ने बताए।
साथै, भदौ २३ र २४ का घटनामा संलग्न दोषी सबैको छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।





















