ओखलढुंगा । नेकपा (एमाले) ओखलढुंगाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवाल पुनः पार्टी राजनीतिमा सक्रिय हुने भएका छन्। लामो समय निष्क्रिय रहेका कटवालले पार्टी काममा फर्किने घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कटवालले आफू २०४३ सालदेखि तत्कालीन नेकपा (माले) को विद्यार्थी संगठन अनेरास्ववियु हुँदै पार्टी राजनीतिमा संगठित भएको स्मरण गरेका छन्। २०४७ सालदेखि पार्टीका विभिन्न मोर्चामा काम गर्दै ओखलढुंगा जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले पार्टीप्रतिको योगदान सबैलाई विदित रहेको बताएका छन्।
कटवालले पार्टीभित्र बढ्दै गएको विकृति, विसंगति, अवसरवादी र हैकमवादी प्रवृत्तिका कारण ओखलढुंगामा पार्टी संगठन कमजोर बन्दै गएको अवस्थामा आफूले कठिन परिस्थितिमा नेतृत्व सम्हाल्नुपरेको बताएका छन्। पार्टीको १०औँ जिल्ला अधिवेशन सम्पन्न गर्ने क्रममा आफू उम्मेदवार नभएको र नेतृत्व हस्तान्तरणको तयारीमै रहेको बेला आफूविरुद्ध दबाब, आरोप–प्रत्यारोप र निर्णय अधिकार कुण्ठित गराउने कार्य भएको आरोप पनि उनले लगाएका छन्।
ती परिस्थितिपछि जिल्ला कमिटीबाट राजीनामा दिएर आफू निष्क्रिय बसेको उल्लेख गर्दै उनले अहिले देश निर्वाचनमा होमिएको र पार्टी तथा नेतृत्वमाथि चौतर्फी हमला भइरहेको अवस्थामा जिम्मेवार सदस्यका रूपमा चुप लागेर बस्न नसकेको बताएका छन्।
कटवालले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने निष्कर्षसहित पुनः सक्रिय राजनीतिमा फर्किएको जनाउँदै एमालेका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा जिल्लावासी मतदातालाई एकताबद्ध भएर वर्तमान चुनौतीको सामना गर्न आग्रह गरेका छन्।
उनले आगामी निर्वाचनमा पार्टीकी उम्मेदवार अस्मिता थापालाई सूर्य चिह्नमा मतदान गर्न र गराउन अपिल गरेका छन्। साथै, चुनावी अभियानका क्रममा आरोप–प्रत्यारोप, गालीगलौज र अराजनीतिक तथा असहिष्णु शैली प्रयोग नगर्न आग्रह गर्दै राजनीतिक मर्यादा र संस्कार कायम राख्न सबैलाई अनुरोध गरेका छन्।
हाल आफू बुवाको उपचारका सिलसिलामा काठमाडौंमा रहेको र जिल्ला फर्किएपछि पार्टी तथा निर्वाचन परिचालनको काममा सहकर्मीसँग हातेमालो गर्ने उनले बताएका छन्।
कटवालको पुनः सक्रियतासँगै ओखलढुंगामा एमाले संगठन थप सशक्त हुने अपेक्षा गरिएको छ।





















