दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर निवासी हरी जिसी मृत भेटिएका हुन्।
प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। खोजीका क्रममा उनको स्कुटी बाटोमै फेला परेको थियो भने पछि घोराही उपमहानगरपालिका–१८ घरडौरा क्षेत्रको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।
स्रोतका अनुसार जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको आईसीयूमा उपचाररत थिए। बिदा माग्दा स्वीकृति नपाएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले शवको पोस्टमार्टम पूरा भइसकेको जानकारी दिँदै मोबाइलको लक खुलिसकेपछि मात्र घटनाको वास्तविक कारण खुल्ने बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















