काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा निर्वाचन शुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि मतदान जारी छ ।
आगामी फागुन २० गते राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ । तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।
बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो ।
राष्ट्रियसभा निर्वाचनमा कांगेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालले गठबन्धन गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने एक्लै प्रतिस्पर्धा गर्दैछ।
रिक्त हुन लागेका १८ सिटमध्ये ९ सिटमा कांग्रेस, ८ सिटमा एमाले र १ सिटमा जसपाले भागबण्डा गरेका छन्।
आगामी फागनु २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिँदैछ।
कार्यकाल सकिन लागेका नेकपाका नेता नारायणकाजी श्रेष्ठ पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न प्रदेशसभा १६ र स्थानीय तहका ११ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्।
कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।
भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।
त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ। न्यौपानेले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा तनहुँबाट उम्मेदवार बनेकी छिन् ।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ।
राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।
कोको छन् उम्मेदवार ?
राष्ट्रिय सभामा कोशी प्रदेशबाट महिला र दलित समूहबाट १/१ जना छान्न मतदान हुँदै छ । त्यहाँ महिला सिटमा एमालेकी रोश्नी मेचे र नेकपाकी नमिता न्यौपाने प्रतिस्पर्धामा छन् । दलित सिटमा एमालेका सोमनाथ पोर्तेल र नेकपाका खेमराज नेपालीको उम्मेदवारी परेको छ । खस आर्यतर्फ कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
मधेश प्रदेशमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा १/१ जना गरी ४ सिटका लागि मतदान हुँदै छ । महिला सिटमा एमालेबाट रेखाकुमारी झा, नेकपाबाट शमीकुमारी अग्रवाल र जसपा नेपालबाट चन्द्रकलादेवी साहले उम्मेदवारी दिएका छन् । दलित सिटमा कांग्रेसका धर्मेन्द्र पासवान, नेकपाका शम्भु पासवान हजारी र जसपा नेपालकी चमेली देवी दासको उम्मेदवारी परेको छ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका रञ्जित कर्ण, नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी प्रतिस्पर्धामा छन् ।
अन्य समूहबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दिएका छन् । उनलाई कांग्रेस र एमाले तथा जसपा नेपालको साथ छ । नेकपाले लक्ष्मण पौडेललाई उम्मेदवार बनाएको छ । लोसपासँग पार्टी एकीकरण गरेको जसपा नेपालले गठबन्धनलाई सहयोग गर्ने भन्दै पार्टीका तर्फबाट दिएको उम्मेदवारीलाई निष्क्रिय बनाएको घोषणा गरेको थियो ।
१ सय ७ सदस्यीय मधेश प्रदेशसभा सदस्यमा ३ जना निलम्बित छन् । प्रदेशसभा सदस्यहरू जसपाका सरोजसिंह कुशवाहा (महोत्तरी), एमालेका दीपेन्द्रकुमार ठाकुर (धनुषा) र लोसपाका अभिराम शर्मा (महोत्तरी) निलम्बित छन् ।
बागमती प्रदेशमा महिला १ र अन्य समूहबाट १ गरी दुई सिटका लागि निर्वाचन हुँदै छ । महिला सिटमा कांग्रेसले गीता देवकोटा, नेकपाले सरोजकुमारी झा, नेमकिपाले कविता महर्जनलाई उम्मेदवार बनाएका छन् । अन्य समूहबाट चुनिने सिटमा एमालेबाट प्रेमप्रसाद दंगाल, नेकपाबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाबाट विक्रम ढुकुछुले उम्मेदवारी दिएका छन् ।
गण्डकी प्रदेशमा पनि महिला १ र अन्य समूहको १ गरी २ सिटका लागि राष्ट्रिय सभाको मतदान हुँदै छ । महिला सिटमा एमालेबाट सम्झना देवकोटा, नेकपाबाट गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बाँस्कोटा प्रतिस्पर्धामा छन् । अन्य समूहको सिटमा कांग्रेसका जगत तिमिल्सिना, नेकपाका कपिल लामा, राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल उम्मेदवार छन् ।
लुम्बिनीमा महिला १, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १ र अन्य समूहबाट १ गरी ३ सिटका लागि निर्वाचन हुन लागेको हो । कांग्रेस–एमाले गठबन्धनबाट एमाले नेता रामकुमारी झाँक्री उम्मेदवार बनेकी छन् । नेकपाबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्मा पण्डितले उम्मेदवारी दिएका छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक उम्मेदवार छन् । अन्य समूहबाट कांग्रेसका चन्द्रबहादुर केसी, नेकपाका वृहस्पति अधिकारी र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।
कर्णाली प्रदेशबाट महिला १ र अन्य समूहबाट १ गरी २ सिटका लागि निर्वाचन हुँदै छ । महिला सिटमा एमालेबाट मीनासिंह रखाल र नेकपाबाट अञ्जु महतराको उम्मेदवारी परेको छ । अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्माको उम्मेदवारी छ ।
सुदूरपश्चिममा महिला र अन्य समूहका १/१ सिटमा निर्वाचन हुन लागेको छ । महिला सिटमा एमालेबाट लीलाकुमारी भण्डारी र नेकपाबाट रोजी बस्नेतको उम्मेदवारी छ । त्यस्तै, अन्य समूहको सिटमा कांग्रेसबाट खम्मबहादुर खाती र नेकपाबाट टीकाराम जैसीले उम्मेदवारी दिएका छन् ।




















