तेह्रथुम । पूर्वमन्त्री भवानी खापुङ नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सम्पूर्ण टिम नेकपा (एमाले) मा समाहित भएको छ।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौलाको नेतृत्वमा रहेका नेता–कार्यकर्तासहित एमालेको मूलधारमा फर्किएका हुन्। तेह्रथुममा आयोजित एक कार्यक्रममा उनीहरूलाई एमालेले औपचारिक रूपमा स्वागत गरेको छ।
एकीकृत समाजवादी तेह्रथुमले जारी गरेको विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिक शक्तिहरू अझ संगठित र बलियो हुनुपर्ने निष्कर्षसहित एमालेमा समाहित हुने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ।
सो निर्णयअनुसार संविधानसभा सदस्यसमेत रहेका खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौँ सम्पर्क मञ्च र विभिन्न जनसंगठनमा आबद्ध सम्पूर्ण नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन्।
विज्ञप्तिमार्फत आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तेह्रथुमका सूर्य चिन्हका उम्मेदवारलाई विजयी गराउन जिल्लावासी सम्पूर्ण नागरिकमा अपीलसमेत गरिएको छ।




















