काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य पदका लागि ललितपुर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदिश खरेलसँग स्पष्टीकरण माग गरेको छ ।
निर्वाचन आयोगका अनुसार खरेलले निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (क) र (ण) उल्लङ्घन गरेको देखिने श्रव्यदृश्य सामग्रीसहित उजुरी प्राप्त भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगद्वारा मिति २०८२ माघ ८ गते पठाइएको पत्रमा उम्मेदवार खरेलले दलको झण्डाको प्रयोग गरी तथा आचारसंहिताले तोकेको २५ जनाभन्दा बढीको जुलुससहित मनोनयन दर्ता गरेको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न भनिएको छ । यदि उक्त कार्य गरिएको हो भने किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानूनअनुसार कारबाही नगर्नु पर्ने हो भन्ने प्रश्नसमेत आयोगले उठाएको छ ।
निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ ।
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालना गराउने नीति अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।





















