काठमाडौं । नेकपा एमाले छोडेको २४ घण्टा मै फर्किएका छन्, राष्ट्रिय युवा संघ दमक नगर कमिटीका सचिव कमलप्रसाद गैरे । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई समर्थन गर्न सचिव गैरे २४ घण्टा नबित्दै पुनः नेकपा (एमाले) मा फर्किएका हुन ।
बिहीबार गैरेले सार्वजनिक रूपमा एमालेमै फर्किएको घोषणा गरेका छन् । उनले केही व्यक्तिको दबाब र प्रभावका कारण रास्वपातर्फ गएको गएको बताउँदै गहिरो सोच, अध्ययन र आत्ममूल्यांकनपछि पुनः एमालेमै फर्किने निर्णयमा पुगेको भन्दै आत्माआलोचना गर्दै फर्किएका छन् ।
गैरेले भनेका छन्, “हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेँ । तर गहिरो सोच, अध्ययन र विश्लेषणपछि नेकपा (एमाले) नै राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेको निष्कर्षमा पुगेँ । हिजो भएको गल्ती सच्चाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेको यही पार्टीमा हिजो पनि थिएँ, आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्दछु ।”
आगामी प्रतिनिधि सभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन सक्रिय रूपमा खटिने उनले बताएका छन् । “दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रको विकासका लागि राष्ट्रनायक केपी ओली आवश्यक भएकोले उहाँलाई जिताउन यही पार्टी र संगठनमार्फत अभियानमा लागिरहने संकल्प गर्दछु,” उनले उल्लेख गरेका छन् ।
गैरेले आफू विद्यार्थी कालदेखि नै एमालेसँग आबद्ध रहेको जनाउँदै अनेरास्ववियु हुँदै हाल राष्ट्रिय युवा संघ, नेपाल दमक नगर कमिटीको सचिवको जिम्मेवारीमा रहेको जानकारी दिएका छन् । अब पनि सोही भूमिकाबाट पार्टी र संगठनका गतिविधिमा सक्रिय रहने उनको भनाइ छ ।




















