झापा। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधिमा संलग्न व्यक्तिहरू कुनै न कुनै बेला कानुनी कारबाहीको दायरामा आउने बताएका छन् । उनले विध्वंस र आपराधिक क्रियाकलापको आयु लामो नहुने बताएका छन् ।
बिहीबार झापाको दमक–८ मा अवस्थित तत्कालीन नेकपा (माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्ने क्रममा अध्यक्ष ओलीले यस्ता घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याइने विश्वास व्यक्त गरेका हुन ।
अवलोकनका क्रममा ओलीले नेता पुरीलाई सम्बोधन गर्दै भने, “सधैँ अराजकता टिकिरहँदैन। कुनै न कुनै दिन विध्वंस मच्चाउनेहरू कारबाहीको दायरामा ल्याइन्छन्। त्यसैले उजुरी–निवेदनजस्ता कानुनी प्रक्रिया अघि बढाउनुहोस्।”
यस अवसरमा नेता पुरीले घटनासम्बन्धी आवश्यक प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाइसकेको जानकारी गराए।
पुरीको घरको अवलोकनपछि अध्यक्ष ओली दमकस्थित तत्कालीन माओवादी पार्टीको कार्यालयमा भएको क्षति अवलोकन गर्दै गौरादहतर्फ प्रस्थान गरेका छन् ।




















