इटहरी । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र उम्मेदवार चयनसम्बन्धी बहस माघ ६ गतेअघि नै समाप्त भइसकेको उल्लेख गर्दै अब सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर सूर्य चुनाव चिह्न बोकेका उम्मेदवारहरूलाई जिताउन लाग्नुपर्ने बताएका छन्।
सुनसरीमा पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव भट्टराईले एमाले अब अन्य दलसँगको प्रतिस्पर्धामा उत्रिसकेकाले “को उम्मेदवार हुँदा ठीक” भन्ने बहसको अब कुनै अर्थ नरहेको बताए।
उनले भने, “अब हामी अरू पार्टीसँगको प्रतिस्पर्धामा उत्रिसकेका छौँ। टिकट वितरणको समीक्षा अहिले हुँदैन। अहिलेको मुख्य कार्यभार भनेको देशैभर आन्तरिक एकता बलियो बनाउनु र पार्टीका तर्फबाट उम्मेदवार बनेका सबै कमरेडहरूको पक्षमा एकढिक्का भएर अघि बढ्नु हो।”
भट्टराईले देशभरका पार्टी कार्यकर्तालाई अपिल गर्दै भने, “आजको लडाइँ एमालेभित्र कुन उम्मेदवार भयो भन्ने होइन, एमाले जित्नुपर्छ भन्ने हो।”
एमालेका लागि चुनाव सधैँ चुनौतीपूर्ण रहने उल्लेख गर्दै उनले यसपटक मात्र चुनौती नभएको बताए। उम्मेदवार चयनबारे समीक्षा फागुन २१ गतेपछि मात्र गरिने स्पष्ट पार्दै भट्टराईले एमालेको नेतृत्वमा सरकार गठन गर्ने लक्ष्यसहित चुनाव जित्न पार्टी केन्द्रित रहेको बताए।




















