काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्तिजस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे संक्रान्ति एवं माघी पर्व, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले भनेका छन्, “माघे संक्रान्तिजस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”
माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढंगले हर्षोल्लासपूर्वक मनाउने गर्छन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।
राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको पनि उल्लेख गरेका छन् ।
विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । (रासस)




















