काठमाडौँ । सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको रकममध्ये १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार पाँच–छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेका थिए। लुटिएको रकमको केही हिस्सा बरामद भए पनि लुटेराहरू भने फरार रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घटनामा संलग्न चार–पाँच जना लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरी नियन्त्रणमा लिएपछि रकम लुटेका थिए। कुटपिटबाट सुरक्षागार्ड रुद्र कार्कीसहित घाइते भएका छन्।
लुटेराहरू सवार गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुटेराहरू भाग्ने क्रममा स्थानीयको होहल्लापछि केही रकम भएको बोरा छाडेर फरार भएका थिए। त्यसपछि गरिएको खोजतलासमा घटनास्थलबाट दुई–तीन किलोमिटरको क्षेत्रभित्र थप रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
लुटेराहरूले काभ्रेको बनेपाबाट रिजर्भ गरेर लगेको बीएड-०३९८ नम्बरको टाढा सुमो गाडीसहित त्यसका चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका गाडी चालक थापाले आफूले लुटेराहरुलाई नचिनेको दाबी गरेका प्रहरीले जनाएको छ ।




















