काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीमा नेतृत्व र नीति परिवर्तनको मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ।
आयोगमा पुगेको हस्ताक्षरबारे एक अधिकारीले जानकारी दिँदै आयोगले हालसम्म अध्ययन गरेको छैन। विशेष महाधिवेशनको माग गर्दै ३ महिनाअघि ५४ प्रतिशतले हस्ताक्षर पार्टी कार्यालयमा बुझाएका थिए। अहिले उक्त महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षले यसलाई रोक्न छलफल आह्वान गरेको छ। छलफलमा पार्टी सभापति शेरबहादुर देउवा समूह, नेता डा शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरू सहभागी छन् ।
त्यसैगरी, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी छ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच मंगलबार दिउँसो दोस्रो चरणको वार्ता सुरु भएको छ। महाधिवेशन पक्षधरका नेता एवं वार्ता समितिका सदस्य देवराज चालिसेले यो जानकारी दिएका छन्।
बिहान भएको पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्ना नेताहरूसँग ब्रिफिङ गर्ने भन्दै छुट्टिएका थिए।
विशेष महाधिवेशन पक्षधर नीति र नेतृत्व परिवर्तनमा अडिग छन् भने संस्थापन पक्ष वार्तामार्फत समस्या समाधान गर्ने र तोकिएकै मितिमा नियमित महाधिवेशन गर्ने पक्षमा छ ।



















