काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
आइतबार बिहान ललितपुरको च्यासलमा उनीहरूबीच करिब २५ मिनेट एक्लाएक्लै छलफल भएको हो। प्रचण्डको सचिवालयका अनुसार आजै साँझ भारतको राजधानी नयाँदिल्ली जाने कार्यक्रम तय भएका प्रचण्डले त्यसअघि ओलीसँग भेट गरेका हुन्। च्यासलस्थित एक निजी निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
प्रचण्ड दिल्लीमा विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको छ।
भेटवार्तामा मुख्यतः आगामी राष्ट्रिय सभा निर्वाचनमा दलहरूबीच तालमेल गर्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ। तर छलफलबाट कुनै ठोस सहमति भएको वा नभएको विषयमा सार्वजनिक रूपमा जानकारी दिइएको छैन।
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय सभा निर्वाचनलाई लिएर प्रमुख दलहरूबीच छलफल जारी रहेको बताएका छन्। प्रमुख तीन दल मिलेर चुनाव लड्ने तयारी हो भन्ने प्रश्नमा उनले कांग्रेसको तर्फबाट त्यस्तो प्रस्ताव आएको बताए। तर तालमेलको विषयमा अझै टुंगो लागिनसकेको उनको भनाइ छ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सदस्य हुन्, जसलाई सरकारको सिफारिसमा पुनः राष्ट्रपतिबाटै मनोनयन गरिने व्यवस्था छ। बाँकी १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।
प्रदेशगत रूपमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन्।
प्रमुख दलहरू एक्लाएक्लै चुनाव लड्दा कठिन हुने अवस्था रहेकाले तालमेलको प्रयास भइरहेको नेताहरू बताउँछन्। कांग्रेस–एमाले मिल्दा अन्तरघातको जोखिम र नेकपासँग तालमेल गर्दा अर्को पक्षलाई घाटा हुने सम्भावनाका कारण तीनै दलबीच सहकार्यको विकल्प खोजिँदै आएको उनीहरूको तर्क छ।
राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा कांग्रेसतर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा. प्रकाशशरण महत, एमालेतर्फबाट शंकर पोखरेल र माओवादी केन्द्रका नेता वर्षमान पुनलगायत नेताहरू दुईपक्षीय तथा बहुपक्षीय छलफलमा संलग्न छन्।
आगामी पुस २३ गते मनोनयन दर्ताको मिति नजिकिँदै गएकाले दलहरूबीच संवाद तीव्र बनेको हो। यद्यपि भेटवार्ताको विस्तृत विषयमा नेताहरूले औपचारिक रूपमा टिप्पणी गर्न चाहेका छैनन्।
कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनबारे दलहरूबीच कुराकानी भइरहेको बताए पनि कुनै निष्कर्ष ननिस्किएको स्पष्ट पारे। उनका अनुसार प्रमुख तीन दल मिलेर चुनाव लड्दा संविधान निर्माण गर्ने शक्तिहरू एक ठाउँमा रहेको सन्देश जाने र चुनावी परिणाममा ठूलो उतारचढाव नआउने नेताहरूको बुझाइ छ।




















