काठमाडौं । आसन्न महाधिवेशनको तयारी तीव्र बनाएसँगै नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसेको छ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालन मोडालिटीबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउने उद्देश्यले विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी छ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर नेताहरू भने विधान महाधिवेशनले गरेको निर्णय परिवर्तन गर्न नहुने अडानमा छन्, जसका कारण बैठक थप पेचिलो बन्ने संकेत देखिएको छ। पोखरेलले पेश गरेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापन पक्षको तयारीले पनि नेतृत्व तहमा चासो बढाएको छ।
आगामी २७ गते भक्तपुरको सल्लाघारीमा एमालेको महाधिवेशन उद्घाटन हुँदैछ। सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ ।




















