काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। अरनिको राजमार्गअन्तर्गत १५.८ किलोमिटर लामो यो खण्डलाई दुई प्याकेजमा विभाजन गरी ६ लेनमा विस्तार गर्ने कार्य जारी छ।
पहिलो प्याकेजअन्तर्गत सूर्यविनायक–साँगा ८.३ किलोमिटर सडकको काम ४५ प्रतिशत पुगेको छ भने दोस्रो प्याकेज, साँगा–धुलिखेल ७.५ किलोमिटरको प्रगति ५५ प्रतिशत पुगेको छ। दुवै क्षेत्रमा निर्माण तीव्रगतिमा भइरहेको विभागले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले परियोजनास्थलको अनुगमन गर्दै निर्माण प्रगतिबारे प्रत्यक्ष जानकारी लिए। सडक विभागका महानिर्देशक, परियोजना प्रमुख तथा निर्माण व्यवसायीसँगको छलफलमा उनले अहिले उपयुक्त मौसम भएकाले कामलाई अझ तीव्र बनाउन निर्देशन दिए।
मन्त्री घिसिङले परियोजनाका बाँकी निर्णय तुरुन्त टुंग्याउन, जनशक्ति तथा उपकरण थप गरी निर्माणलाई पूर्ण रूपमा गतिशील बनाउन तथा आगामी असारभित्र सडक विस्तार सक्ने लक्ष्यसहित काम गर्न आग्रह गरे। अर्थ मन्त्रालयले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेकाले अब वित्तीय अभाव नहुने उनको भनाइ थियो।
यसअघि सडक सीमा विवाद, घरटहरा हटाउने समस्या तथा बजेट अभावले परियोजना प्रभावित हुँदै आएको थियो। चालु आर्थिक वर्षमा आयोजना ७० करोड रुपैयाँ मात्र विनियोजन भए पनि करिब ४ अर्ब रुपैयाँ थप आवश्यक रहेको परियोजनाले जनाएको छ।
यसैबीच, मन्त्री घिसिङले बनेपा नगर प्रमुखसँग भेट गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएका समस्यामा नगरपालिकाको सहयोग र सहजीकरण आवश्यक पर्नेमा जोड दिए।
दुवै प्याकेजमा टेवा पर्खाल र नाली निर्माण ९५ प्रतिशत पूरा भएको छ। त्यस्तै साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।




















