काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि जलविद्युत् उपयुक्त वातावरण भएको बताएका छन्।
सोमबारबाट काठमाडौंमा सुरु भएको ३७औं एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई) सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका हुन्।
अर्थमन्त्री महतले सम्मेलनपश्चात नेपालमा लगानीबारे थप स्पष्टता आउने विश्वास व्यक्त गरे । उनले भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने बताए। आउँदा दिनहरुमा नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको भन्दै अर्थमन्त्री महतले जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा राम्रो अवसर हुने बताए।
भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए ।
बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको बताए।
महतले पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर रहेको भन्दै लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरे ।
यस्तै, लगानीका लागि सूचना प्रविधि क्षेत्र अर्को महत्त्वपूर्ण क्षेत्र भएको बताए । सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको बताउँदै अर्थमन्त्री महतले सम्मेलनमा उपस्थित विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै त्यसले नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्ने उनको भनाइ छ ।




















