काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आज (कात्तिक २० गते) करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा आईएमईआई नम्बर दर्ता नभएका महँगा फोनहरु प्राधिकरणले दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने भएको हो ।
भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि निःशुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रणालीमा दर्ता नभएका फोनहरु क्रमश: ब्लक हुने बताएका छन् । यो प्रणाली लागू भएसंगै अवैध र गैरकानुनी रुपमा भित्र्याइएका मोबाइल सेटमा कुनै पनि सिमकार्ड चल्ने छैनन् ।
प्राधिकरणले गत कात्तिक ४ गते सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरुलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल दर्ता गर्न आग्रह गरेको थियो । सुरुमा हाइ रेन्जका एक लाख भन्दा महंगा मोबाइल ह्याण्डसेटमा प्रणाली लागू हुने अध्यक्ष खनालले बताएका छन् ।
प्राधिकरणले आफ्नो माेवाइल फोन याे प्रणालीमा दर्ता भएको छ वा छैन हेर्न सकिने जनाएकाे छ। एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर माेवाइल फाेन दर्ता भए नभएकाे हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आईएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ ।
ह्यानडसेट नयाँ छ भने त्यसको आईएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकिएको जनाएको छ । तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएका प्राधिकरणका अध्यक्ष खनालले बताए ।




















