काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सरकार अघि बढिरहेको बताएका छन्। उनले कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इन्जिनियरिङ तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्।
छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाका अनुसार प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने बताएका थिए।
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार र भन्सारसम्बन्धी व्यवस्थामा सुधार गर्ने सरकारको योजना छ।
प्रधानमन्त्री शाहले मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई पनि प्राथमिकता दिने र त्यस्ता क्षेत्रमा आवश्यक सहुलियत उपलब्ध गराउनेबारे सांसदहरूलाई जानकारी गराएका थिए।
नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि विगतका सरकारले बजेटमै रकम विनियोजन गरे पनि परियोजना अघि बढ्न सकेको छैन। शाह नेतृत्वको सरकारले भने यसलाई प्राथमिकतामा राखेको जनाएको छ।
प्राविधिक सांसदलाई विज्ञताअनुसार योगदान गर्न आग्रह
करिब साढे दुई घण्टा चलेको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको सुरुवातमा सांसदहरूले पछिल्लो बाढी–पहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले संसद्मा उठ्ने विषय, सांसदको भूमिका तथा सरकारसँग गर्न सकिने समन्वयबारे धारणा राख्दै मुलुकको औद्योगिकीकरण र विकासका लागि ठोस योजना तथा नयाँ विचार प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेका थिए।
प्रधानमन्त्री शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै दीर्घकालीन नीति निर्माणमा योगदान गर्न आग्रह गरे।
‘तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधानमन्त्री शाहले भने।
उनले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे।
प्रधानमन्त्री शाहले सांसदहरूलाई परिवर्तनका संवाहकका रूपमा उल्लेख गर्दै नयाँ उपाय र योजनामा काम गर्न सके पाँच वर्षमै मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा राखेका थिए।
नयाँ योजना वा नीतिसम्बन्धी सुझाव भए सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्ता प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग आफू सहज रूपमा भेट गर्न तयार रहेको उनले बताएका थिए।
प्रधानमन्त्रीले विद्युत् उत्पादन बढाउनेसँगै विद्युत् खपत बढाउने योजना र आयोजनामा पनि सरकारको ध्यान केन्द्रित रहेको जानकारी गराएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुन्।




















