काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने गतिविधि अब स्वीकार्य नहुने बताएका छन्।
मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब पार्टी नीति र अनुशासनविपरीत गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए ।
ओलीले पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता अब स्वीकार्य नहुने बताउँदै केन्द्रीय कमिटी बैठकलाई ‘कट अफ डेट’का रूपमा लिइएको उल्लेख गरे। पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने तथा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने उनको भनाइ थियो।
उनले ‘लोकतन्त्रको पुनर्वहाली’ र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीका दुई मुख्य कार्यभारका रूपमा अघि सार्न निर्देशन दिए। निर्वाचनमा केन्द्रित भएर पार्टीलाई जिततर्फ अघि बढाउने र निष्क्रिय जनसंगठनलाई पुनर्गठन गर्ने उनले बताए।
कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायत नेताहरूको उपस्थिति थियो।




















