चितवन । जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१–०८२ को तुलनामा आर्थिक वर्ष २०८२–०८३ मा यो सङ्ख्या बढेको हो ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो । उनका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा यो सङ्ख्या ३९६ रहेको थियो । हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उनले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गरे ।
विशेषगरी आर्थिक अपस्था कमजोर भएको र ग्रामीण क्षेत्रका बालबालिकामा यो रोगको समस्या देखिएको उनको भनाइ छ । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, माडी नगरपालिकाका बालबालिकामा यो रोगको सङ्क्रमणदर वढ्दो रहेको छ । अहिले जिल्लामा पाँच वर्षमुनिका बालबालिका ४५ हजार ६०८ जना छन् ।
यो सङ्क्रमणमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको श्वासप्रश्वास प्रतिनिमनेट ४० पटकभन्दा बढी हुन नहुने, दुई महिनादेखि एक वर्षसम्मको ५० पटक र दुई महिनामुनिका बालबालिकाको ६० पटक हुनुपर्ने हुन्छ । श्वासप्रश्वासमा समस्या देखिँदा रुघा, खोकी लाग्ने, निमोनिया हुने र बच्चाको कोखा हानेकोजस्तो हुने, खान मन नगर्नेलगायतका लक्ष्यण देखिए जटिल समस्या भएको मान्ने गरिन्छ । यस्तो समस्या देखिएका बालबालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा किरण देवकोटा छिटो श्वासप्रश्वास हुनु रोग नभए पनि रोगको लक्ष्यण भएको बताउछन्। यस्ता बालबालिकामा निमोनिया, स्वासनलीमा समस्यालगायतका कारण हुने गर्दछ । मौसमी फ्लुका कारण बालबालिकामा यो समस्या हुने उनले जानकारी दिए । यो सङ्क्रमणबाट बच्नका लागि चिसो, धुवाँ, धुलोबाट बच्नुपर्छ ।



















