काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले यही असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र २६ जना घाइते भएको जानकारी दिए । प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी पहिरोका ९७ घटना भएका छन् । पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् ।
त्यसैगरी अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएको छ । बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ । अविरल वर्षाका घटनामा पनि सात सय जनाको उद्धार गरिएको छ ।
विपद्का कारण ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । घटनाबाट भएको अनुमानित आर्थिक क्षति रु एक करोड ९१ लाख ६६ हजार रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएको विपद्मध्ये पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन् । यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार तथा खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।




















