काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई बयानका निमित्त बोलाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएको अवस्थामा आइतबार भेटघाट गर्न रोक लगाइएपछि आयोगले सोमबार पत्राचार गर्दै उनलाई उपस्थित हुन निर्देशन दिएको हो । आयोगका अनुसार एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुनका लागि पत्र काटिएको छ ।
आयोगको टोलीलाई हिरासत अनुगमन गर्न रोक लगाइएको विषयमा उनीसँग स्पष्टीकरण लिने तयारी भइरहेको छ । यसअघि आइतबार आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको तीन सदस्यीय टोली पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न पुग्दा प्रहरीले भेट्न नदिएपछि रित्तै फर्किएको थियो ।
सुरक्षा थ्रेटको कारण देखाउँदै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहानै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।



















